Kathmandu Press

प्रज्वल पराजुलीले ल्याए ‘चित्रलेखाको चौरासी’

लेखक पराजुलीले शनिबार आफूले मनपराएका अर्का लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो।
प्रज्वल पराजुलीले ल्याए ‘चित्रलेखाको चौरासी’

काठमाडौं, भदौ १६ : प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’ सार्वजनिक भएको छ। यो उनको आफ्नै पुस्तक ‘ल्याण्ड ह्वेर आइ फ्ली’को नेपाली अनुवाद हो।

लेखक पराजुलीले शनिबार आफूले मनपराएका अर्का लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो।

अंग्रेजी पाठकहरु माझ लोकप्रिय लेखक पराजुलीले नेपाली साँस्कृतिक परिवेशमा उभिएका आख्यानलाई संसारभर फैलाइरहेका छन्। अघिल्लो पुस्तक लघुकथा संग्रह ‘द गुर्खाज डटर’ जस्तै प्रज्वलको यो उपन्यासले पनि समीक्षकहरुको मन जित्न सफल भइसकेको छ। यसलाई विश्वका अग्रणी अखवारहरुले ‘वर्षकै उत्कृष्ठ पुस्तक’ उपमा दिइसकेका छन्।

Hardik ivf

‘यो उपन्यासलाई मैले अंग्रेजी भाषामै पढिसकेकी थिएँ,’ पुस्तकको समीक्षा गर्दै लेखक सगुना शाहले भनिन्, ‘कुशलतापूर्वक गरिएको नेपाली अनुवादमा भने यसका पात्र र परिवेशले अझ विविधता समेटेको पाएँ।’

उनी दक्षिण एशियाली त्यसमा पनि विशेषगरि भारतीय उपमहाद्वीप भित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन्। सुललित लेखनबाट अघि बढ्ने यी विषयवस्तुले भित्रभित्रै वहस पनि सिर्जना गरिरहेको हुन्छ।

उनको पहिलो पुस्तक ‘द गुर्खाज डटर’ सन् २०१२ मा बेलायतबाट प्रकाशनभए लगत्तै ‘डिलन थोमस प्राइज’ को मनोनयनमा पर्न सफल भएको थियो। त्यसयता प्रज्वल सन् २०१८ र २०२३ मा गरी दुई पटक त्यस पुरस्कारको निर्णायक समेत रहिसकेका छन्।

सन् २०१५ मा उक्त पुस्तकलाई ‘गोर्खाकी छोरी’ शिर्षकमा नेपाली भाषाका पाठकहरुसम्म ल्याउने पब्लिकेशन्स नेपालयले नै प्रज्वलको यो दोश्रो कृतिलाई पनि तयार पारेको हो।

‘यो उपन्यास हजुरआमाको चौरासीका लागि संसारभरबाट भेलाभएका सन्तानहरुको भोगाइमा आधारित छ,’ लेखक पराजुलीले भने, ‘त्यसैले अंग्रेजी पुस्तकमा प्रयोग गरिएको नाम ‘ल्याण्ड ह्वेर आइ फ्ली’ भन्दा नेपाली अनुवाद पुस्तकको नाम ‘चित्रलेखाको चौरासी’ अझ बढी सान्दर्भिक महशुस गरेँ।’

01 Author Prajwal Parajuly and Author Narayan Wagle jointly launch 'Chitralekha Ko Chaurasi'. Photo - Mohan Pun - nepalaya1693654031.jpg

पुस्तकलाई अंग्रेजी मूल कृतिबाट नेपाली भाषामा अनुवाद विभू लुइँटेलले गरेकी हुन्।

विमोचन समारोहमा लेखक प्रज्वलसँग लेखिका सगुनाले संवादसमेत गरेकी थिइन्। पराजुलीको अघिल्लो आख्यान जस्तै यसमा पनि नेपाली पहिचान बोकेका पात्र र तिनका प्रवृत्तिको मिहिन चित्रण गरिएको छ।

यो उपन्यासले पनि आफुलाई तीन वर्षअघिको ‘इमिल गिमेट प्राइज’ मनोनयनमा पार्न सफल भइसकेको छ भने यसको फ्रान्सेली अनुवाद समेत त्यसै वर्ष उक्त मुलुकको ‘फस्र्ट नोबल प्राइज’ को मनोनयनमा परिसकेको छ।

त्यसैगरि बेलायतको ‘इन्डिपेन्डेन्ट’, अमेरिकाको ‘अ कान्सास सिटी स्टार’ र भारतको ‘हिन्दूस्तान टाइम्स’ अखवारहरुले आफ्ना समीक्षाहरुमा यसलाई वर्षकै उत्कृष्ठ पुस्तकको सूचीमा राखेको थियो । भारतकै ‘भोग’ पत्रिकाले दक्षिणएशियाकै आठ सर्वोत्कृष्ठ उपन्यासमध्ये यस पुस्तकलाई पनि समावेश गरेको थियो।

‘हारुकी मुराकामी र पाउलो कोयल्हो जस्ता लेखकहरु उनीहरुले लेख्ने जापानी र पोर्चुगाली समुदायभन्दा अनुदित अंग्रेजी भाषाबाट संसारभर चिनिन्छन्,’ कार्यक्रममा पब्लिकेशन्स नेपालयका तर्फबाट बोल्दै किरणकृष्ण श्रेष्ठले साहित्यमा अनुवाद विधाबारे बोल्दै भने, ‘अनुवाद नभएको भए, यी लेखक लगायत थुप्रै युरोपेली, चिनिया, रुसी लेखन बारे हामी अनविज्ञ रहने थियौं।’

यस्तो महत्वपूण विधा अर्थात् अनुवादका मामलामा नेपाल भित्र देखिएगा बिना अनुमति प्रकाशनको सिलसिलाले हाम्रो प्रकाशन उद्योगबारे विश्वभर अविश्वसनीय छबि बनाउने डर रहने उनको भनाइ थियो।

श्रेष्ठले फ्रान्सेली प्रकाशन गृहबाट अनुमति लिएरै आनी छोइङ डोल्माको जीवनी प्रकाशन सुरुगरेपछि नेपालयले हालसम्म विदेशबाट प्रकाशित थुप्रै पुस्तकहरु आधिकारिक रुपमा नेपाली पाठकसम्म पु¥याउँदै आएको स्पष्ट पारे।  

३ सय ८८ पृष्ठको यो पुस्तकलाई पब्लिकेसन्स नेपालयले प्रकाशन गरेको हो। पुस्तकको मूल्य ८७५ रुपैयाँमा राखिएको छ।

नेपाली भाषामा अनुवाद गरिएको पराजुलीको यो पुस्तकलाई विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्छन् भने थुप्रै डटकम (thuprai.com) बाट यसको इबुक पनि किन्न सकिनेछ ।

 

प्रकाशित मिति: १७:०१ बजे, शनिबार, भदौ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्