Kathmandu Press

धर्म संस्कृतिको संरक्षण गरिनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौडा, फागुन ९ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई एकताको सूत्रमा बाँध्ने धर्म संस्कृतिहरुको संरक्षण गरिनुपर्ने बताएका छन्।

....
धर्म संस्कृतिको संरक्षण गरिनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौडा, फागुन ९ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई एकताको सूत्रमा बाँध्ने धर्म संस्कृतिहरुको संरक्षण गरिनुपर्ने बताएका छन्।

महाशिवरात्रिको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले महाशिवरात्रि पर्व जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण भएको बताए । 'देवादिदेव महादेवसमेत भनिने हिन्दूहरुका आराध्यदेव शिवको उत्पत्ति भएको दिनको रूपमा मनाइने महाशिवरात्रि पर्वका अवसरमा वागमती प्रदेशवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु', पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ।

'विज्ञानका हिसाबले हाम्रा धर्म, संस्कृति र परम्पराहरुको अत्यन्तै महत्व रहेको कुरामा दुईमत छैन । भगवान् शिवलाई सदियौँदेखिको यहाँको धार्मिक, जातिगत तथा भौगोलिक विविधताबीच रहिआएको एकता, सामाजिक सद्भाव तथा सर्वधर्म समभावको बलियो आधारको रुपमा हामी लिन सक्छौँ । भौगोलिक हिसाबले हिमालमा जन्मेका शिवलाई मैदानी क्षेत्रका बासिन्दाहरुले अधिक मान्नु र तराईमा जन्मेका भगवान् वुद्धलाई हिमाली क्षेत्रका  बासिन्दाले बढी मान्नु आफैँमा  जातिगत, भौगोलिक तथा सामुदायिक समायोजनको गतिलो उदाहण हो भन्ने बुझ्न जरुरी छ', सन्देशमा भनिएको छ।

पौडेलले सन्देशमार्फत समाजलाई सबै दृष्टिकोणबाट एकताको सूत्रमा बाँध्ने हाम्रा धर्म, संस्कृति, रितीरिवाजहरुको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व बन्न पुगेको बताएका छन् । यद्यपि चाडबाड मान्ने नाममा हुने विकृति र विसङ्गतिहरुलाई भने हामीले अन्त्य गर्नु जरुरी रहेको सन्देशमा उल्लेख छ।

'गाँजा, भाङ, धतुरो, मदिरा तथा सुर्ती सेवन आफैँमा स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ । यस्ता कुराहरुले स्वास्थ्यसँगै, अर्थ तथा सामाजिक प्रतिष्ठा पनि ध्वस्त बनाउँछ । त्यसैले आजको यो पवित्र दिनमा त्यस्ता स्वस्थ समाज प्रतिकूल हुने कुराहरुको सेवन नगर्ने सङ्कल्प पनि गरौँ', मुख्यमन्त्रीको सन्देशमा भनिएको छ।

प्रकाशित मिति: १२:०० बजे, शुक्रबार, फागुन ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्