Kathmandu Press

जलवायु परिवर्तन र कुपोषणको जोखिममा बालबालिका

जलवायु परिवर्तन र कुपोषणले स्वास्थ्यमा ल्याउने जोखिमबाट बालबालिका असुरक्षित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। 

विश्वका ४० भन्दा धेरै बाल तथा किशोर स्....

जलवायु परिवर्तन र कुपोषणको जोखिममा बालबालिका

जलवायु परिवर्तन र कुपोषणले स्वास्थ्यमा ल्याउने जोखिमबाट बालबालिका असुरक्षित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। 

विश्वका ४० भन्दा धेरै बाल तथा किशोर स्वास्थ्य विशेषज्ञका अनुसार कुनै पनि देशले कार्बन उत्सर्जन, प्रकृतिको विध्वंश, उच्च क्यालोरी र प्रशोधित खानाको प्रभावबाट अर्को पुस्तालाई पर्याप्त मात्रामा सुरक्षा दिन नसकेको बताएका छन्।

धनी देशहरूले अत्यधिक मात्रामा उत्सर्जन गरेको कार्बनले सबै बालबालिकाको भविष्य जोखिममा पारेको उनीहरूले बताएका छन्। खतरनाक हिटवेभदेखि ट्रपिकल रोगलगायत स्वास्थ्यको जोखिम पनि उत्तिकै हुने उनीहरूको भनाइ छ।

Hardik ivf

विश्व स्वास्थ्य संगठन र युनिसेफले संयुक्त रूपमा जारी गरेको सो अध्ययन प्रतिवेदनमा बोसो र चिनीयुक्त खाना, मदिरा र सुर्तिको हानिकारक बजार प्रवर्द्धनबाट बालबालिकाले भोग्नुपर्ने जोखिम पनि प्रकाश पारिएको छ।

“कुनै देशले पनि बालबालिकाको स्वास्थ्य र उनीहरूको भविष्यको सुरक्षा गरिरहेका छैनन्। यो दु:खद कुरा हो,” युनिभर्सिटी कलेज लन्डनस्थित इन्स्टिट्युट फर ग्लोबल हेल्थका निर्देशक एन्थोनी कोस्टेल्लोले भने, “वायु प्रदुषणले बालबालिकाको फोक्सोमा पुर्यायएको क्षति हेर्दा, हामीसँग समाधान निकाल्ने थोरै समयमात्रै बाँकी भएको चाल पाउनेछौं। हामीसँग समाधान छ। तर त्यसलाई यथार्थमा परिणत गर्ने राजनीतिक नेतृत्व र इच्छाशक्ति छैन।”

दि लान्सेटमा प्रकाशित उक्त प्रतिवेदनले १९० देशको कार्यसम्पादनको मुल्याङ्कन गरेको छ। बालबालिकाको आयु, शिक्षा र पोषणको दरलाई आधार बनाएर मुल्याङ्कन गरिएको हो। यी मापदण्ड अनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिक र चाडजस्ता अतिकम विकसित राष्ट्रले नर्वे र नेदरल्यान्ड्सजस्ता धनी देशको दाँजोमा कमजोर प्रदर्शन गरेको देखिएको छ।

तर प्रतिव्यक्ति कार्बन उत्सर्जनबाट हुने वायु प्रदुषणको प्रभावलाई हेर्दा देशहरूको वरियता उल्टो हुन आउँछ। “विश्वका निर्णयकर्ताहरू आजका बालबालिका र युवाप्रति असफल हुँदै गएका छन्। उनीहरूको स्वास्थ्य, अधिकार र पृथ्वी जोगाउन असफल भएका छन्,” विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसआधानोम घेबरेयससले भने।

मोटोपन ११ गुणाले वृद्धि

निम्न र मध्यम आय भएका देशका पाँच वर्षमुनिका करिब २५ करोड बालबालिका कुपोषण र गरिबीका अन्य प्रभावको शिकार भएका छन्। त्यसैगरी, विश्वभरि नै मोटोपनको समस्या भएका बालबालिकाको संख्या सन् १९७५ देखि ११ गुणा बढेर झण्डै साढे १२ करोड पुगेको छ।

केही देशका बालबालिकाले वर्षमा ३० हजार जति विज्ञापन टेलिभिजनमा हेर्छन्। उद्योगले स्वयं नियमन गरे पनि अष्ट्रेलियाका बालबालिकाले एक वर्षमा मदिरासम्बन्धी विज्ञापन ५ करोडभन्दा धेरै पटक हेर्ने गरेको एउटा अध्ययनले देखाएको छ।  “उद्योगको नियमन असफल भएको छ,” कोस्टेल्लोले भने, “तर यथार्थ योभन्दा खराब हुनसक्छ। बालबालिका लक्षित सामाजिक सञ्जाल विज्ञापनको विशाल विस्तार र एल्गोरिदमसम्बन्धी तथ्याङ्क हामीसँग थोरै मात्र छ।”

अनुसन्धाताले जलवायुसम्बन्धी पेरिस सम्झौता अनुसार कार्बन उत्सर्जन घटाउन र हानिकारक बजार प्रवर्द्धनको कडा नियमन गर्न सरकारहरूलाई आग्रह गरेका छन्।
 

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, फागुन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्