डडेलधुरा पुगेर ओलीले भने, ‘पश्चिम सेती मेरै कार्यकालमा बन्छ’
डडेलधुरा, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले ७५० मेगावाट क्षमताको पश्चिम सेती जल विद्युत आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घोषणा ग....

डडेलधुरा, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले ७५० मेगावाट क्षमताको पश्चिम सेती जल विद्युत आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घोषणा गरेका छन् ।
ओलीले डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गर्दैं पश्चिम सेतीको निर्माण अगाडी बढाउने बताएका हुन् । ‘सुदूपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती मेरै कार्यकालमा निर्माण सुरु हुन्छ’, उनले भने, ‘विद्युत् नपुगेको क्षेत्रमा पनि व्यापक रुपमा विद्युतीकरण गर्ने छौं ।’
प्रधानमन्त्री ओलीले मंगलबार अमरगढी नगरपालिका वडा नं. १ दुधकाँडेमा नेपाल सरकारको लगानीमा निर्माण भएको १३२/३३ केभी सवस्टेशनको पनि उद्घाटन गरे ।
सब स्टेसन संचालनमा आएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत त्यहींमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ । यसले त्यस क्षेत्रको विद्युत विकासका लागि सहज वातावरणको निर्माण हुनेछ ।
कार्यक्रममा ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सबस्टेसनको निर्माणले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण पूर्वाधार तयार गरेको बताए । ‘यस क्षेत्रमा अध्ययन, निर्माणाधीन तथा निर्माणको चरणमा जान लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई वितरण गरी खपत गर्न नसकेकोलाई अन्य क्षेत्रमा लैजान सक्ने पूर्वाधार क्षमता तयार भएको छ’, उनले भने, ‘पश्चिम सेतीलाई अगाडि बढाउन अहिले लगानी बोर्डमा छलफल भइरहेको छ, यस क्षेत्रका जनताको भावनालाई समेटेर पश्चिम सेती उपयुक्त लगानी मोडलमा तत्काल निर्माणमा लैजान ऊर्जा मन्त्रालय प्रतिबद्ध छ ।’
दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउले सबस्टेशनबाटै डडेलधुरा, बझाङ,दार्जुला,डोटी, वैतडी र अछाममा बितरण भइरहेको छ ।
यसअघि नेपाल विद्युत प्राधिकरणले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्याई फेरि करिब एक सय किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सबस्टेसन संचालनमा आएपछि सुदुपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत प्रवाहको गुणस्तरलाई पनि बढाएको बताए । ३० मेगावाटको चमेलिया र नौगाड जलविद्युत केन्द्रबाट उत्पादन भएको करिब ३८ मेगावाट विद्युतमध्येबाट स्याउले सबस्टेसनमार्फत डडेलधुरा, बैतडी,बझाङ, अछाम, डोटी र बाजुराका करिब १२ लाख जनतालाई नियमित र भरपर्दो विद्युत् आपूर्ति गरी बाँकी राष्टिय प्रवाह भइरहेको उनले जानकारी दिए ।
३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा प्रसारण चुहावट बढी हुने र ‘भोल्टेज ड्रप’ हुने समस्या थियो । यी सबै समस्याको समाधान गर्न चमेलिया–अत्तरिया १३२ केभी प्रसारण लाइन मूनी पर्ने स्याउलेमा सब स्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । सव स्टेसनमा १३२÷३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३÷११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ ।
जग्गाको मुआब्जा, नेपाल सरकारको ऋणको ब्याज र आयोजनाको प्रशासिनक खर्चसमेत गरी सबस्टेसनको ४५ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।











