कांग्रेसले भन्यो- प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार नहेरे पनि सुन्नु त हुन्छ होला नी!
काठमाडौं, फागुन ८ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तत्काल राजीनामा दिनुपर्ने बताएको छ।<....

काठमाडौं, फागुन ८ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तत्काल राजीनामा दिनुपर्ने बताएको छ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले पत्रकार सम्मेलन गरी राजीनामा माग गरेको हो।
पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले बाँस्कोटाको राजीनामासँगै सेक्युरिटी प्रेस खरिद प्रक्रियाका नेपथ्यमा को–को संलग्न छन्, सबैलाई छानविन गर्नुपर्ने बताए।
‘प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्नुपर्छ। यसमा कुनै आग्रह पूर्वाग्रह राख्न हुँदैन। यो विषयमा को–को जोडिएका छन्। निष्पक्ष छानविन हुनुपर्छ,’ शर्माले भने।
उनले सार्वजनिक भएको अडियोमा मन्त्रीले कर्मचारीलाई अपशब्द बोलेको भन्दै आपत्ति समेत जनाए। ‘मन्त्रीले बोलेका शब्दावली आपत्तिजनक छन्। कर्मचारीको सन्दर्भमा यस्ता शब्द प्रयोग गर्नु अशोभनीय हो। यो सरकारको धारणासँग जोडिन्छ,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने गरेको भन्दै शर्माले प्रश्न गरे, ‘अनुहार नहेरेपनि सुन्न त सुन्नुहुन्छ होला नी! प्रधानमन्त्रीले संचारमन्त्रीलाई बर्खास्त गर्नुपर्छ।’ उनले भ्रष्टाचारको कुनै मुद्दामा राजनीतिक पूर्वाग्रह राख्न नहुने भन्दै छानविन गर्नुपर्ने बताए।











