फ्रान्सेली राजदूतलाई नाइजर छोड्न आदेश
काठमाडाैं, भदाै ९ : नाइजरको सैन्य नेतृत्वले फ्रान्सेली राजदूतलाई देश छोड्न आदेश दिएको छ। सैन्य सरकारको यो कदमले पश्चिम अफ्रिकी राष्ट्रमा प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई पदच्युत गरेपछि अन्तरराष्ट्रिय सङकटलाई अझ बढाएको अल जजीराले जनाएको छ।
फ्रान्सेली राजदूत सिल्भेन इट्टेलाई ४८ घण्टाभित्र नाइजर छोड्न भनिएको छ। शुक्रबार उहाँलाई सैन्य सरकारले पठाएको एक पत्रमा छलफलका निम्ति विदेश मन्त्रालयमा उपस्थित हुन गरिएको आमन्त्रणाको बेवास्ता गरेको आरोप पनि लगाइएको छ। राजदूत इट्टेको निष्कासनको कारण ‘नाइजरको हित विपरीत फ्रान्सेली सरकारको काम हो’ भनिएको छ।
फ्रान्सको विदेश मन्त्रालयले शुक्रबार नै नाइजरका सत्ता विप्लवीसँग आफ्ना राजदूतलाई फिर्ता जान आदेश दिने कुनै अधिकार नभएको बताएको छ। सैन्य विद्रोहअघिसम्म नाइजरसँग फ्रान्सको सुमधुर सम्बन्ध थियो। आफ्नो पूर्वउपनिवेश नाइजरलाई सशस्त्र समूहविरुद्धको लडाइँमा पेरिसले सघाउँदै आएको थियो।
गत महिना सेनाले सत्ता कब्जा गरेपछि नाइजरमा फ्रान्स विरोधी भावना बढ्दै गएको छ भने केही स्थानीयले आफ्नो आन्तरिक मामिलामा पेरिसले हस्तक्षेप गरेको आरोप लगाएका छन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले नाइजरका विद्रोहीको आलोचना गर्दै अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गर्न माग गरेका छन्।
यसैबीच, सैन्य नेता जनरल अब्दरहमाने त्चियानीले आक्रमणको अवस्थामा नाइजर क्षेत्रमा हस्तक्षेप गर्न बुर्किना फासो र मालीका सुरक्षा बललाई अधिकार दिने दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका सैन्य अधिकारी ओमारो इब्राहिम सिदीले बताएका छन्।