पनौती आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर
काभ्रे, भदौ ५ : पनौती आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। प्रारम्भ सामाजिक संस्था ललितपुरको विशेष सहयोग र सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीको नेतृत्वमा सो शिविर आयोजना भएको हो ।
अमेरिका निवासी समाजसेवी बिना बोगटीले सहजीकरण गरेको शिविरमा विद्यालयका शिशुदेखि ८ कक्षासम्मका १५६ विद्यार्थीको स्वस्थ्य परीक्षण गरिएको थियो। इशान बाल अस्पतालका बालरोग सर्जन डा. सिरिश सिलवाल र नर्स मनिषा श्रेष्ठको मेडिकल टिमले गरेको परीक्षणमा आँखा रोग, छालारोग, चोटपटक तथा घाऊ पाकने, पिसाव तथा मृगौला सम्बन्धी, जिब्रो तथा दन्तरोग सम्बन्धी समस्याको पहिचान बताइएको छ।
समाजसेवी बोगटीकी छोरी आयषा गिरिले अमेरिकास्थित आफू अध्यनरत विद्यालयका विद्यार्थीको पहलमा स्वास्थ्य शिविरका लागि औषधि व्यवस्थापनमा सहयोग गरेकी थिइन्।
प्रथम त्रैमासिक परीक्षा सकेर एक हप्ते बिदा दिनु पूर्व विद्यार्थीको स्वास्थ्य अवस्था बारे जानकारी लिने र स्वास्थ्य उपचार गर्न तथा आवश्यक सल्लाह दिने उद्देश्यले शिविर संचालन गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले बताए।
नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक र अध्यक्ष बद्रिराज तिमल्सिनाको समन्वयमा संचालित शिविरमा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेल, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुसोत्तम सेढाई, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, पनौती–७ का वडा अध्यक्ष सविन ताम्राकारलगायतको उपस्थिति थियो।