प्रजातन्त्र दिवसमा राप्रपाको मागः मौलिक प्रजातन्त्र
काठमाडौं, फागुन ७ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्र दिवसको अवसरमा ‘मौलिक प्रजातन्त्र’ स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्न सरकारसँग माग....

काठमाडौं, फागुन ७ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्र दिवसको अवसरमा ‘मौलिक प्रजातन्त्र’ स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्न सरकारसँग माग गरेको छ । राप्रपाले परिकल्पना गरेको ‘मौलिक प्रजातन्त्र’मा राजनीतिक दलहरूसँगै राजतन्त्रको पनि स्थान हुनेछ ।
प्रजातन्त्र दिवसको अवसर पारेर आज राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मालाई २२ बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
राप्रपाले आफ्नो मागको पक्षमा जनमत सिर्जना गर्न फागुन १५ देखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्दैछ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, प्रधानमन्त्रीलाई मागपत्र बुझाउने कार्यक्रम राप्रपाको जनसंघर्ष अभियानकै हिस्सा हो ।
श्रेष्ठका अनुसार, प्रधानमन्त्रीसँगै सातै प्रदेशका मुख्यमन्त्री र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि मागपत्र बुझाइएको छ ।
राप्रपाले राजतन्त्रसहितको लोकतन्त्रबाहेक धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्रको घोषणाको पनि माग गरेको छ । संघीयताको बारेमा जनमत संग्रह र जर्बजस्ती धर्म परिवर्तन गर्न प्रोत्साहित गर्नेलाई कारबाहीको माग पनि उसले गरेको छ ।
राप्रापाले बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार, तस्करी र महंगीको नियन्त्रण, संस्कृत भाषा अनिवार्य गराइनुपर्ने, गाईहत्या नियन्त्रण, महिला र दलितहप्रतिको विभेदको अन्त्य र दोहोरो कर हटाउन पनि माग गरेको छ । त्यस्तै, भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धी नयाँ सन्धिले विस्थापित गर्न र कालापानी, लिपुलेक, सुस्ता लगायतका क्षेत्रमा भारतसँगको सीमा विवादमा समाधान खोज्न पनि राप्रपाले माग गरेको छ ।
त्यस्तै पृथ्वी जयन्ती र प्रजातन्त्र दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन पनि राप्रपाले माग गरेको छ ।











