एमसीसीबारे सरकारको दृष्टिकोण प्रष्ट छ : परराष्ट्रमन्त्री
काठमाडौं, फागुन ७ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको दृष्टिकोण प्रष्ट रहेको बताएका छन्।
....

काठमाडौं, फागुन ७ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको दृष्टिकोण प्रष्ट रहेको बताएका छन्।
बंगलादेशको औपचारिक भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले गत साउनमै संसदमा सरकारले एमसीसी पारित गर्ने प्रस्ताव पेश गरिसकेकाले नेकपाको कार्यदलले यसबारे अध्ययन गर्ने म्याण्डेट मात्र पाएको बताएका हुन्।
उनले पार्टीको बैठकमा समूहगत छलफलका क्रममा कतिपयले नबुझेको भनेपछि यसबारे अध्ययन गर्न कार्यदल निर्माण गरेको बताए। 'हाम्रो म्याण्डेट पनि त्यति नै हो', उनले भने, 'दोस्रो पटक म्याद थप भएको अवधिभित्रै चाँडै हाम्रो प्रतिवेदन बुझाउछौं।'
नेकपा केन्द्रीय कमिटीबाट एमसीसी अध्ययन गर्न गठित झलनाथ खनाल नेतृत्वको कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र मन्त्री ज्ञवाली पनि सदस्य छन्।कार्यदलको बैठक बिहीबार बस्ने बैठकले परराष्ट्र मन्त्रालयसँग पनि कागजात मागेको उनले बताए।
मन्त्री ज्ञवालीले चीनमा फैलिएको कोरोना भाइरसको कारण नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रभावित नहुने बताए। धेरै मुलुकबाट सहभागिताको सुनिश्चितता भइसकेको र कतिपय मुलुकसँग सहभागिताबारे कुराकानी भइरहेकाले कार्यक्रम प्रभावित नहुने उनले बताए।
उनले भने ‘चीनले कोरोनाविरुद्धको लडाइमा विस्तारै विजय प्राप्त गर्दै गएको छ। हामी यो संकटको क्षणमा चीनसँग ऐक्यबद्धता जनाउँछौं।’ फागुन ५ देखि ७ गतेसम्मको औपचारिक भ्रमणको क्रममा नेपाल र बंगलादेशबीच व्यापार, पर्यटन, कनेक्टिभिटी लगायतका विषयमा महत्वपूर्ण छलफल भएको उनले बताए।











