Kathmandu Press

देश हरेक दिन एक कदम अघि बढिरहेको छ : सञ्चारमन्त्री बाँस्कोटा

कोहलपुर, फागुन ७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घकालीन महत्वका काम गर्दै आएको बताएका छन्।....

देश हरेक दिन एक कदम अघि बढिरहेको छ : सञ्चारमन्त्री बाँस्कोटा

कोहलपुर, फागुन ७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घकालीन महत्वका काम गर्दै आएको बताएका छन्।

गोरखापत्र प्रकाशनको कोहलपुर संस्करणको शुभारम्भ समारोहलाई बुधाबार सम्बोधान गर्दै उनले सरकारले दिनदिनै नयाँ र दीर्घमहत्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै गएको बताएका हुन्।

'समृद्धि र सुख कुनै बाटो, पुल, खानेपानी र ढल जस्तो होइन, यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रुपमा बुझ्नु पर्दछ', उनले भने, 'मान्छेहरु भन्छन् जनता निराश भएको छ । केही भएन । आलोचना गर्न पाइन्छ तर, भएका काम देखाउन नसक्ने कुराले चाहिँ वास्तवमा पछि असत्य सावित हुन्छ र हामी त्यसैको प्रतीक्षामा छौं।'

मन्त्री बाँस्कोटाले सरकारप्रति जनता खुशी रहेको र अझै खुशी बनाउन लागि परेको बताए । 'सम्पूर्ण सफलता हासिल गरेका छैनौँ । शुरुआत हो । अहिलेको सरकार चटके सरकार होइन । हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँ।' 

उनले सरकारले हरेक दिन देश एक कदम अगाडि बढ्ने गरी काम गरिरहेकाले अब देश पछाडि फर्किन नसक्ने बताए । 'देश हरेक दिन एककदम अगाडि बढेको छ। अब देश पछाडि फर्किन सक्दैन', उनले भने ।  विगतमा अन्य दलले सञ्चारमाध्यमको दुरुपयोग गरे पनि अहिले त्यस्तो अवस्था नरहेको बताउँदै उनले सरकारले अहिले त्यस्तो नभएको बताए । 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले देशको सम्पत्तिलाई हिनामिना गर्ने जो कोहीलाई पनि कानून, तथ्य, प्रमाण र बेइमानीका हदहरुको आधारमा सरकारले निर्ममतापूर्वक कारवाही अगाडि बढाउने बताए । 

उनले भने, 'देश बदल्ने बेला यही हो यति बलियो सरकार भएको बेला नबदलेर कहिले बदल्ने । पूर्वाग्रह नराखिकन तथ्यपूर्ण तरिकाले सरकार अगाडि बढ्छ, बेथिति रोक्दै गएपछि समृद्धिका आधारशिला निर्माण हुँदै जान्छन् ।'

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्