चौथो बनेपा महोत्सव असोज १९ देखि कार्त्तिक ४ सम्म हुने
काभ्रे, भदौ २ : बनेपा महोत्सव २०८० असोज १९ गतेदेखि कार्त्तिक ४ गतेसम्म आयोजना हुने भएको छ। बनेपा ब्वाइज क्लब बीबीसीले आयोजना गर्न लागेको यो महत्वसवको चौथो संस्करण हो।
‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ दसैं तथा तिहारको अवसरमा आयोजना हुने चौथों व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ गर्न लागिएको क्लबले जनाएको छ।
महोत्सवमा १३० वटा स्टल रहने छन्। जसमध्ये ७५ वटा स्टल अहिले नै बुकिङ भइसकेको अध्यक्ष महेश कर्माचार्यले बताए। कृषि जन्य स्टल एक व्यक्तिलाई महोत्सव अवधिभर कम्तीमा तीनदिन निःशुल्क दिइने उनले बताए।
काभ्रे जिल्लाका व्यवसायीलाई स्टलमा १५ प्रतिशत छुट दिइने र हस्ताकलाको विशेष प्रवद्र्धन गरिने कमार्चायले जानकारी दिए।
उग्रेश्वर महादेव मन्दिर परिसरमा चल्ने महोत्सवमा बालबालिकाको लागि छुट्टै मनोरञ्जन बाल उद्यानको ब्यवस्था हुने, महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट र बनेपा सम्बन्धि चित्रकला प्रतियोगिता सञ्चालन गरिनेछ।
क्लबका अनुसार अपांगता र बृद्धबृद्धाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइनुका साथै स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाचसहित महोत्सवको उद्घाटन गरिनेछ।
महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति हुनेछ। स्थानीय प्रतिभालाई पनि प्राथमिकता दिने आयोजनाकले बताएको छ। साना तथा घरेलु उद्योग र ब्यापारको प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
महोत्सवको मुख्य संयोजकमा पारसमणि कायस्थ, संघसंस्था समन्वय संयोजकमा सरोज तिमल्सिना, खेलकूद प्रतियोगिता संयोजकमा किशोर वरुण, भलिबल प्रतियोगिता संयोजकमा जितेन्द्र श्रेष्ठ, मार्सल आर्ट प्रतियोगिता संयोजकमा नरेशराज कायस्थ, फुटबल प्रतियोगिता संयोजकमा राजु लामा, गायन प्रतियोगिता संयोजकमा रबिनसन श्रेष्ठ र नृत्य प्रतियोगिता संयोजकमा प्रताप हुमागाई रहेका छन्।