धरानमा डेंगुले ११ काे मृत्यु, १० हजार परीक्षण गर्दा ७१ प्रतिशतमा संक्रमण
उनका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ। परीक्षण गरिएकामध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
विराटनगर, साउन २९ : धरानमा वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु अझै मत्थर भएकाे छैन। अहिलेसम्म त्यहाँ डेंगु संक्रमितको संख्या १० हजार नाघिसकेको छ।
डेंगुका कारण त्यहाँ ११ जनाले ज्यान पनि गुमाइसकेका छन्। मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए। उनका अनुसार मृतक ११ जनामध्ये एकजना उदयपुरका र बाँकी १० जना सुनसरी (धरान) का हुन्।
उनका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ। परीक्षण गरिएकामध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
धरानमा घरघरमा डेंगु संक्रमण देखिएपछि त्यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन्। संक्रमितको उपचारका लागि वडा कार्यालय, सभागृह र उद्योग वाणिज्य संघमा पनि संक्रमितलाई राखेर उपचार भइरहेको उनले बताए।
तीव्रगतीमा संक्रमण फैलिएपछि स्थानीय प्रशासनले धरानमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाका लागि गृह मन्त्रालय र प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा आग्रह गरेको छ।
सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले स्वास्थ्य संकटकाल घोषणा सिफारिस गर्ने निर्णय गरेको हो ।











-(86)-1764936079.jpg)
