वाइडबडीको क्वारेन्टाइन पूरा, पर्यटक बस भोलि फिर्ता हुने
काठमाडौं, फागुन ६ : चीनको वुहानबाट नेपाली विद्यार्थी ल्याएको नेपाल वायुसेवा निगमको एयरबस–३३० (वाइडबडी) विमानको क्वारेन्टाइन अवधि पूरा भएको छ। वि....

काठमाडौं, फागुन ६ : चीनको वुहानबाट नेपाली विद्यार्थी ल्याएको नेपाल वायुसेवा निगमको एयरबस–३३० (वाइडबडी) विमानको क्वारेन्टाइन अवधि पूरा भएको छ। विद्यार्थीलाई बोकेको पर्यटक बस भने भोलिमात्रै फिर्ता गरिने भएको छ।
आईतबार बिहान चीनबाट विद्यार्थी ल्याएपछि विमानलाई ग्राउन्डेड राखिएको थियो। आजदेखि विमानको क्वारेन्टाइन अवधि सकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गरेर जहाजलाई नियमति उडानमा प्रयोग गर्ने तयारी गरिएको छ। ‘जहाजबाट विद्यार्थी झर्नसाथ हामीले ग्राउण्डेड गर्यौं, तर विभिन्न स्थानमा यात्रुलाई लैजानने क्रममा केही ढिला भएका कारण पर्यटक बसको अवधि सकिएको छैन,’ उनले भने।
उनका अनुसार मन्त्रालयवाट पर्यटक व्यवयासीहरुलाई बुधबार बिहान ७ बजेपछि बस लैजान खबर गरिएको छ। भोलि बिहानसम्म सबै प्रक्रिया पूरा भएपछि बसको क्वारेन्टाइन अवधि सकिनेछ।
निगमका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनले आज साँझबाट विमानले नियमति उडान भर्ने बताए।
विद्यार्थी ल्याएपछि विमान र पर्यटक बसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टी रहेको रिमोट पार्किङ–वेमा राखिएको थियो।
त्यस्तै, चीन गएको चालकसहित १७ सदस्यीय टोलीलाई पनि क्वारेन्टाइनमा राखिएको छ। उनीहरू नगरकोटस्थित खानेपानी कार्यालयमा बसिरहेका छन्।
विद्यार्थीलाई भने भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ। उनीहरू १४ दिनपछि मात्रै घर फर्किन पाउनेछन्।











