आज देखिँदैछ सुपर मुन
आज यो वर्षकै ठूलो र उज्यालो पूर्ण चन्द्र अर्थात् ‘सुपर मुन’ देखिँदैछ । संसारका विभिन्न ठाउँबाट देखिने यो ‘सुपर मुन’ नेपालबाट पनि देखिने भए तापन....
आज यो वर्षकै ठूलो र उज्यालो पूर्ण चन्द्र अर्थात् ‘सुपर मुन’ देखिँदैछ । संसारका विभिन्न ठाउँबाट देखिने यो ‘सुपर मुन’ नेपालबाट पनि देखिने भए तापनि अरू बेलाभन्दा खासै धेरै फरक भने नदेखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
‘नाङ्गो आँखाले खासै फरक देखिँदैन । तर सर्वसाधारणले आकाशमा आज बेग्लै जून देख्नेछन्,’ सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले काठमाडौं प्रेससँग भने, ‘जून हेर्दा आँखालाई कुनै खतरा छैन ।’
वर्षको यो समयमा अत्यधिक हिउँ पर्ने भएकोले यो ‘सुपर मुन’लाई केही अमेरिकी आदिवासी समूह ‘सुपर स्नो मुन’ पनि भन्छन् । जाडो यामको यो दोश्रो पूर्णचन्द्र हो । यसको अर्काे नाम पनि छ – हङ्ग्री मुन ।
पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा कहिले नजिक त कहिले टाढा हुन्छ । यसको कक्ष गोलो नभएर अण्डाकार हुन्छ । अत्यधिक उज्यालो र पृथ्वीको सबैभन्दा नजिक भएको जूनलाई ‘सुपरमुन’ अर्थात् महाचन्द्र भनिन्छ ।
सोसाइटीका अनुसार आज अपरान्ह २ बजेर ५२ मिनेटमा जून पृथ्वीको सबैभन्दा नजिक आउनेछ । त्यो समयमा जून पृथ्वीभन्दा ३ लाख ५६ हजार सात सय एक किलोमिटर मात्रै टाढा हुनेछ ।
जून सबैभन्दा नजिक भएको बिन्दुलाई ‘पेरिजी’ र सबैभन्दा टाढा भएको बिन्दुलाई ‘एपोजी’ भनिन्छ । ‘पेरिजी’मा पुग्दा जून ठूलो र ‘एपोजी’मा पुग्दा सानो देखिन्छ । वर्षमा दुईदेखि चार वटा पूर्णचन्द्रलाई ‘सुपरमुन’ वर्गिकरण गर्न सकिने खगोलशास्त्रीहरू बताउँछन् ।
यसअघि, जनवरीमा ‘सुपरमुन’ देखिएको थियो । अब आउने मार्चको पूर्णचन्द्रसमेत गरी यो वर्ष जम्मा तीन वटा ‘सुपरमुन’ देखिने छ । मार्च २० मा देखिने सुपरमुन यसपटकभन्दा सानो हुनेछ ।
सन् २०१८ को फेब्रुअरीमा एक दिन पनि पूर्ण चन्द्र देखिएको थिएन ।






