मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक : अध्यक्ष थापा
काठमाडौं, फागुन ५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु....

काठमाडौं, फागुन ५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताएका छन् ।
मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले सरकारले सदनमा प्रस्तुत गरेका दुवै विधेयकले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोजिएको बताए । उनले भने, 'यस्तो कार्य प्रजातन्त्र र संवैधानिक मूल्यमान्यताका विपरीत रहेकाले त्यसमा सुधार गर्ने प्रयास सराहनीय छ।'
नेपालको सञ्चारजगतले प्रजातन्त्रको स्थापना र मुलुकको समुन्नति तथा आर्थिक विकासमा सशक्त आवाज उठाएको स्मरण गर्दै अध्यक्ष थापाले लोकतन्त्रलाई सुदृढ तुल्याउनसमेत सञ्चार क्षेत्रको भूमिकालाई स्वतन्त्र र स्वाभिमानी ढङ्गले अघि बढ्ने वातावरण बन्नुपर्नेमा जोड दिए । नेपालको सञ्चारजगतले हाल व्यापारिक, राजनीतिक र बाह्य दबाब तथा प्रभाव गरी मुख्य तीन प्रकारको चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरे ।
राप्रपाले विगतको गल्ती र कमजोरीलाई सच्याउँदै आगामी दिनमा देशको प्रमुख शक्तिका रुपमा स्थापित हुने गरी पार्टीका गतिविधि अघि बढेको र २०७७ साल जेठ २५ गतेदेखि नियमित समयभन्दा अगावै पार्टीको महाधिवेशन आयोजना गरिने उनले बताए ।
पार्टीका वरिष्ठ नेता दीपक बोहोरा र बुद्धिमान तामाङले सञ्चार क्षेत्रमा रहेका विकृति हटाएर प्रजातन्त्रको असली पहरेदारका रुपमा मिडिया नेपाल स्थापित हुन सफल हुनेमा विश्वास व्यक्त गरे ।











