Kathmandu Press

कालापानी क्षेत्र नटेकेरै फर्किए रक्षामन्त्री ईश्वर पोखरेल

दार्चुला, फागुन ५ : कालापानीको अवलोकनका लागि आएका रक्षामन्त्री ईश्वर पोखरेल आकाशबाट हेरेरै फर्केका छन्। उनी चढेको हेलिकप्टर कालापानी क्षेत्रमा अवतरण न....

कालापानी क्षेत्र नटेकेरै फर्किए रक्षामन्त्री ईश्वर पोखरेल
फाइल फाेटाे

दार्चुला, फागुन ५ : कालापानीको अवलोकनका लागि आएका रक्षामन्त्री ईश्वर पोखरेल आकाशबाट हेरेरै फर्केका छन्। उनी चढेको हेलिकप्टर कालापानी क्षेत्रमा अवतरण नगरेरै फर्किएको छ।

रक्षामन्त्री पोखरेल सोमबार बिहान दार्चुला सदरमुकाम खलंगाबाट हेलिकप्टरमा भारतले अतिक्रमण गरेको कालापनी क्षेत्रको अवलोकनमा निस्केका थिए। कालापानीमा हेलिकप्टर ल्यान्ड गरेर रक्षामन्त्री पोखरेलले अवलोकन गर्ने बताइएको थियो।

तर, उनको हेलिकप्टर ल्यान्ड गरेन। बाक्लो हिउँका कारण अतिक्रमित क्षेत्रभन्दा टाढै पनि हेलिकप्टर ल्यान्ड गर्न नसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी युगनाथ पौडेलले बताए। ‘त्यस क्षेत्रमा बाक्लो हिउँ परेको रहेछ, त्यसैले उहाँले हेलिकोप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर सदरमुकाम फर्कनु भएको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने।

दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको ब्यारेकबाट बिहान ८ बजे रक्षामन्त्री पोखरेल चढेको हेलिकप्टर उडेको थियो। नेपाली सेनाकै हेलिकप्टरमा उनी अवलोकनका लागि गएका थिए। प्रजिअ पौडेलले भने, ‘हेलिकप्टरबाट कालापानी क्षेत्र १० मिनेटमै पुगिन्छ। उहालेँ केहीबेर आकाशमै हेलिकप्टर होल्ड गरेर कालापानी क्षेत्रको अवलोकन गर्नुभएको हो।’ उनी ९ बजे खलंगा फर्किका थिए।

भारतले राखेका सुरक्षा क्याम्प भने रक्षामन्त्री पोखरेलले हेलिकप्टरबाटै अवलोकन गरेको उनको भनाइ छ। उनी कालोपानी नटेकेरै फर्किएपछि स्थानीय वासिन्दाले भने आक्रोस पोखेका छन्।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलसँगै दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश ठगुन्ना, प्रदेश सभा उपसभामुख निर्मला बडाल (जोशी), प्रदेश सभा सांसदलगायतको हेलिकप्टरमा गएका थिए।

 

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, फागुन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्