‘धेरै राम्रा काम गरेपनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउछ’
काठमाडौं, फागुन ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले सरकारले गरेका कामको समाचार नलेख्ने गरेको गुनासो गरेका छन्।
सोमबार काठमाडौँ....

काठमाडौं, फागुन ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले सरकारले गरेका कामको समाचार नलेख्ने गरेको गुनासो गरेका छन्।
सोमबार काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने परियोजनाको आरम्भ गर्दै सञ्चारमाध्यमप्रति गुनासो गरेका हुन्। सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उनले केही मान्छेलाई भने पीर परेको बताए।
‘सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो।’ उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरे।
प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए। ‘दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ छैन,’ उनले भने।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए पछि दैनिक छ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करीब तीन हजार किलोमिटर सडक कालोपत्र भएको बताए।
प्रधानमन्त्री ओलीले विद्युतका तार भूमिगत गरिएपछि काठमाडौं कुरुप नहुने बताए। ‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ। अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ। पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ,’ उनले भने।
विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट सुरू भएपनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो। पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ।
त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय सुरू भएको बताए।
प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए। एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल विद्युत् उत्पादन पाँच सय मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा पाँच सय मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताए।

-1793171455.jpg)









![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)