काठमाडौंमा विद्युत तार भूमिगत बनाउन सुरू
काठमाडौं, फागुन ५ : काठमाडौं उपत्यकामा विद्युत वितरण प्रणाली (तार)लाई भूमिगत बनाउन सुरू गरिएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले यसको सुरुआत गर....

काठमाडौं, फागुन ५ : काठमाडौं उपत्यकामा विद्युत वितरण प्रणाली (तार)लाई भूमिगत बनाउन सुरू गरिएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले यसको सुरुआत गरेका छन्।
प्रधानमन्त्री ओलीले महराजगञ्जमा यसको सुरूवात गरेका हुन्। पहिलो चरणमा महराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका तारहरू भूमिगत बनाइने छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार, महराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, त्रिवि शिक्षण अस्पताल क्षेत्रमा तार भूमिगत बनाइनेछन्।
यसका लागि ११ हजार भोल्टेज र चार सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने प्राधिकरणले जनाएको छ। यसका लागि दुई सय ५० किलोमिटर अप्टिकल फाइबर बिछ्याइने भएको छ। यसैगरी, रन्तपार्क, पुतलीसडक, बागबजार, न्यूरोड, जमल, अनामनगर, लैनचौर, नक्साल, ठमेल, सोह्रखुट्टे, त्रिपुरेश्वरका क्षेत्रमा पनि भूमिगत बनाइनेछ।
यसैगरि टेकु, थापाथली, माइतीघर, सिंहदरबार, गौशाला, लाजिम्पाट, एयरपोर्ट, बानेश्वर, बौद्ध, चाबहिल, जोरपाटीलगायतका स्थानका तार पनि भूमिगत बनाइनेछ। यी क्षेत्रमा ११ हजार भोल्टेजका दुई सय र चार सय भोल्टेजका चार सय किलोमिटर तार भूमिगत बनाइने प्राधिकरणले जनाएको छ। यसका लागि दुई सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइने भएको छ।
यसले चट्याङ, हावाहुरीका कारण विद्युत प्रणालीमा हुने गडबडी रोकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यसका लागि गत वर्ष नै भारतीय कम्पनी केईआई इन्ड्रस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो।











