Kathmandu Press

डेंगुको प्रकोप बढेपछि सुदूरपश्चिममा ‘लार्भा खोज र नष्ट गर’ अभियान

स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले डेंगुको प्रकोप बढ्दै गएपछि पछिल्लो समय ‘लार्भा खोज र नष्ट गर’ अभियान नै सञ्चालन गरिरहेको छ। 
डेंगुको प्रकोप बढेपछि सुदूरपश्चिममा ‘लार्भा खोज र नष्ट गर’ अभियान

काठमाडौं, साउन १७ : डेंगुका कारण दुई वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा मात्र पन्ध्र सय भन्दा बढी संक्रमित भएका छन्। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले डेंगुको प्रकोप बढ्दै गएपछि पछिल्लो समय ‘लार्भा खोज र नष्ट गर’ अभियान नै सञ्चालन गरिरहेको छ। 

निर्देशनालयका अनुसार सन् २०२२ र २०२३ मा गरेर एक हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिममा सन् २०२३ को सुरुवातदेखि हालसम्म तीन सय २५ जनामा संक्रमण देखिएका छन्।सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस्तै कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा ६, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुईजनामा संक्रमण देखिएको हो। 

गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएको थियो। जसमध्ये तीनजनाको मृत्यु भएको थियो। बर्सातमा दैनिक रूपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने, सरसफाइ अभियान र सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको निर्देशनालयले जनाएको छ। तराईबाट लामखुट्टे पहाडमा समेत पुगेकाले जोखिम बढेको छ। 

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्