व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडिन् बोर्ड
काठमाडौं, फागुन ४ : काठमाडौं महानगरपालिकाभित्रका तीन ठाउँका सार्वजनिक जग्गामा ‘यो जग्गा नेपाल सरकारको हो’ लेखिएको बोर्ड राखिएको छ।
....
काठमाडौं, फागुन ४ : काठमाडौं महानगरपालिकाभित्रका तीन ठाउँका सार्वजनिक जग्गामा ‘यो जग्गा नेपाल सरकारको हो’ लेखिएको बोर्ड राखिएको छ।
आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको अगुवाईमा गएको टोलीले वडा ३१ (साबिक १०) को आलोकनगर, वडा १० को सहभागिता मार्ग र वडा २९ (साविक ३२) अनामनगरमा रहेको जग्गामा बोर्ड राखेको हो।
कार्यक्रममा मन्त्रालयका सहसचिव, प्रदेशसभा सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सदस्यहरुसँगै नापी कार्यालयका अधिकारी सहभागी थिए। बोर्ड राखिएका ठाउँमध्ये आलोकनगरमा १० रोपनी ८ आना, सहयोगी मार्गमा ४ रोपनी र अनामनगरमा १४ आना २ पैसा जग्गा रहेको छ।
जग्गामा बोर्ड राखिसके पछि मन्त्री अर्यालले भनिन्,‘आफ्नो अर्काको, ठूलो सानो, पदमा भएको नभएको केही पनि नहेरी सार्वजनिक जग्गालाई सार्वजनिक उपयोगमा ल्याउने अभियान थालिएको छ।’ सार्वजनिक सम्पत्ति व्यक्तिले प्रयोग गर्न नपाउने भएकाले यसलाई सार्वजनिक उपयोगमा नै ल्याउनुपर्ने उनले बताइन्।











