‘कर्जा विस्तारको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाएर बजार चलायमन बनाउनुपर्छ’
अर्थविद् विश्वास गौचनले पछिल्ला वर्षमा निजी क्षेत्रमा कर्जा प्रवाह बढ्दै गए पनि अर्थतन्त्रमा त्यसको नतिजा देखिन नसकेको बताए।काठमाडाैं, साउन १४ : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले कर्जा विस्तारको लक्ष्य प्राप्त गर्न सरकारको पुँजीगत खर्च बढाएर त्यसलाई बजार चलायमन बनाउनुपर्ने बताएका छन्।
आइबिएन मिडियाले आज काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा उनले भने, 'कर्जाको वृद्धिदर नमिल्दो हुन्छ भन्ने लागेको छ। तर हामीले आशावादी (अप्टिमिस्टिक) भएरै यो दर राखेका हौं।'
उनले अगाडि भने, 'कर्जाको यो वृद्धिदर हासिल गर्न श्रोत पुग्दैन कि भन्ने लागेको छ तर सरकारले आफ्नो पुँजीगत खर्च लक्ष्यअनुसार नै गर्छ र त्यसले बजार चलायमान गराएर कर्जाको माग बढाउन सक्छ भन्ने विश्वास राष्ट्र बैंकले लिएको छ।'
कोभिड १९ महामारीका कारण सुस्ताएको अर्थतन्त्रको पुनरुत्थानका लागि त्योबेला राष्ट्र बैंकले लिएको लचिलो नीति नीति लिएका कारण त्यसको असर अर्थतन्त्रका अन्य सूचक र क्षेत्रमा देखिएको कार्यकारी निर्देशक श्रेष्ठले उल्लेख गने। आन्तरिक अर्थतन्त्र र उत्पादनका क्षेत्रमा कर्जा लगानी हुन सके थप कर्जा विस्तार हुने ठाउँ रहने तर वस्तु आयातका लागि कर्जा जाने हो भने त्यसले थप समस्या निम्त्याउने पनि उनले बताए।
अर्थविद् विश्वास गौचनले पछिल्ला वर्षमा निजी क्षेत्रमा कर्जा प्रवाह बढ्दै गए पनि अर्थतन्त्रमा त्यसको नतिजा देखिन नसकेको बताए। 'कर्जा र घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा कर्जा बढाएर भएन। अहिले आयात केही घटेकामा आन्तरिक उत्पादन बढेर होइन, समग्र मागको सङ्कुचनले हो। उत्पादनशील क्षेत्रमा कर्जा बढ्नसके मात्र यसको नतिजा अर्थतन्त्रमा देखिन्छ', उनले भने।अर्थविद् कल्पना खनालले कर्जाको विस्तार केन्द्रिकृत रहेको र ठूला व्यवसायीले धेरै कर्जा चलाइरहेकाले कर्जा विस्तारमा विकेन्द्रीकरण आवश्यक रहेको बताए।