सरकारलाई कांग्रेसको चेतावनी- संयमतालाई कमजोरी नठानियोस्
काठमाडौं, फागुन ४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो संयमतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएको छ।
सरकारका दुई वर्षको ....

काठमाडौं, फागुन ४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो संयमतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएको छ।
सरकारका दुई वर्षको समीक्षा गर्दै कांग्रेसले जिम्मेवार र शालिन प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै संयमतालाई कमजोरी नठान्न चेतावनी दिएको हो।
‘यो दुई वर्ष कांग्रेसले शालिन र जिम्मेवार प्रतिपक्षीको भूमिका खेलेको छ। सरकारका राम्रा कामको समर्थन गर्नु र नराम्रा काममा ऐना देखाउन प्रतिपक्षीको जिम्मेवारी हो,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘तर सरकारले प्रतिपक्षीको आवाज सानो छ भनेर हाम्रो शालिनतालाई कमजोरीका रुपमा नलियोस्।’ कांग्रेसले गुण र दोषको आधारमा सरकारलाई समर्थन र आलोचना गर्ने नीति लिएको पनि उनले बताए।
‘कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर भारतले आफ्नो नक्सा जारी गर्दा सर्वदलीय बैठकमा कांग्रेसले सरकारलाई सहयोग गर्ने र कूटनीतिक पहलमार्फत नक्सा सच्चाउने कार्यमा अघि बढ्न सहयोगको बचनबद्धता दिएको हो,’ उनले भने, ‘यस्तै संविधानको अपनत्व, सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न र जनजीविकामा मुद्दामा समेत कांग्रेसले साथ दिएको छ।’
तर, सरकारले जिम्मेवार र शालिन प्रतिपक्ष पाउँदा समेत काम गर्न नसकेको उनले आरोप लगाए। कांग्रेसको शालिनपनलाई लिएर नागरिक तह, संचारमाध्यमले समेत आलोचना गर्ने गरेको बताउँदै प्रवक्ता शर्माले मुलुकलाई सुशासन, समृद्धि र विकासको दिशामा लैजान शालिनता अपनाइएको बताए।
पार्टी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्ने आलोचनालाई कांग्रेसले आत्मसाथ गरेको बताए।
‘हामी आलोचनालाई स्वीकार गर्छौं। संसदमा हाम्रो संख्या सानो छ र आवाज सानो भयो भन्ने मान्यता राख्दैनौं। नागरिक अधिकार कुण्ठित गर्ने प्रयास स्वरुप ल्याइएका विरोध, भ्रष्टाचार र अनियमितताका प्रकरणमा संसद र पार्टी दुवै ठाँउबाट विरोध गरेका छौं,’ उनले भने, ‘आगामी दिनमा आत्मालोचना गर्दै अझ प्रखर रुपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने कुरामा सचेत छौं।’
उनले द्वन्द्वग्रस्त परिस्थितिबाट मुलुकमा शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत सहज राजनीतिक वातावरण बन्दा पनि सरकारले काम गर्न नसकेको बताए। कांग्रेसले राष्ट्रियता, लोकतन्त्र, रोजगारी, भ्रष्टाचार, सुशासन र सादचार लगायतका मुद्दामा सरकार असफल भएको ठहर गरेको छ।

-1793171455.jpg)









![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)