एसियन गेम्सका लागि नेपाली क्रिकेट टिमको घोषणा, विनोद, अभिनाश र विवेकको पुनरागमन
नेपाली टिममा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, फास्ट बलर अविनाश बोहरा र अलराउन्डर विवेक यादवले पुनरागमन गरेका छन्।
काठमाडाैं, साउन १२ : चीनमा आयोजना हुन् १९औं एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।
नेपाली टिममा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, फास्ट बलर अविनाश बोहरा र अलराउन्डर विवेक यादवले पुनरागमन गरेका छन्। एसियन गेम्सनमा क्रिकेट टि–२० फर्म्याटमा हुने भएकाले क्याटले तीनै जनालाई टिममा बोलाएको होे।
विनोदले १ वर्ष टिममा पुनरागमन गरेका हुन्। अघिल्लो वर्ष जुलाई १७मा स्कटल्यान्डसँग खेलेयता विनोद राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए। यता, अविनाशले १६ महिनापछि टिममा पुनरागमनको अवसर पाए । उनले अन्तिम पटक अघिल्लो वर्ष अप्रिलमा कीर्तिमान पिएनजीविरुद्ध खेलेका थिए।
यस्तै, युवा अलराउन्डर विवेकले भने ११ महिनापछि पुनरागमनको अवसरा पाए । उनले गत अगस्तमा भएको केन्याविरुद्धको टि–२० सिरिज खेलेका थिए।
क्यानले अहिले टिममा रहेका अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङलाई एसियन गेम्सको टिममा राखेको छैन ।
नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, विनोद भण्डारी, गुल्सन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, अभिनास बोहोरा, ललितनारायण राजवंशी, विवेक यादव र प्रतिस जिसी ।











