सेनाको हेलिकप्टरबाट कालापानी क्षेत्रको भ्रमण गर्दै रक्षामन्त्री
दार्चुला, फागुन ४ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन्। दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदे....

दार्चुला, फागुन ४ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन्। दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमणमा जान लागेकी हुन्।
उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिए। उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागी हुनेछन्।
उनले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गर्न लागेका हुन्। नेपाली सेनाको उच्च अधिकारीले भने समयसमयमा व्यारेकको निरीक्षण गर्दै आएका छन्। काठमाडौंबाट
भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ। उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ।
उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए। तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला पुगेका थिए।
त्यसपछि हेलिकप्टरमार्फत उपप्रधान तथा रक्षामन्त्री पोखरेल व्यास क्षेत्रको भ्रमण गर्ने कार्यक्रमसमेत छ। सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ। पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो। दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य शुरु भएको छ।
महोत्सवको अवसर पारेर उनले नेपाली सेनाको व्यारेक र कालापानी क्षेत्रमा हेलिकप्टरमार्फत अवलोकन गर्ने भएका छन्। उनको जिल्लाको भ्रमणको क्रममा दार्चुला तिङ्कर सडकलाई नेपाली सेनामार्फत बनाउन पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्। रासस











