आर्मीलाई हराउँदै मच्छिन्द्र बन्यो लिग च्याम्पियन
काठमाडौं, फागुन ३ : नेपाल आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ।
दशरथ रंगशालामा ....

काठमाडौं, फागुन ३ : नेपाल आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ।
दशरथ रंगशालामा शनिबार दिउँसो भएको अन्तिम खेलमा आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब लिग च्याम्पियन बनेको हो। २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मच्छिन्द्र १६ वर्षपछि पहिलो पटक लिग च्याम्पियन बन्न सफल भयो।
खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोल नै मच्छिन्द्रका लागि निर्णायक बन्यो र आर्मी आफ्नै खेलाडीको गल्तीका कारण उपविजेतामै सीमित बन्न बाध्य भयो।
मछिन्द्रका रन्जित धिमालले प्रहार गरेको फ्रिकिकमा विकासले हेड गरेको बल आफ्नै पोष्टमा गोलमा परिणत भएको थियो। लिग च्याम्पियन मछिन्द्रले ५० लाख रुपैयाँ नगद प्राप्त गर्यो। उपाधि उचालेको मछिन्द्रले १३ खेलबाट ३१ र आर्मीले २९ अंक जोड्यो।
लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब तेस्रो, २६ अंक जोडेको थ्री स्टार चौंथो र २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रहे।
जावलाखेल युथ क्लब १९ अंकका साथ छैटौं स्थानमा रहन सफल भयो।
उपविजेता आर्मीले ३५ लाख रुपैयाँ प्राप्त गर्यो। यस्तै, तेस्रो भएको मनाङ मर्स्याङ्दीले २५ लाख, चौंथो भएको थ्रीस्टार १५ लाख, पाँचौं भएको नेपाल पुलिस क्लबले ७ लाख र छैटौं स्थानमा रहेको जावलाखेल युथ क्लबले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।
यस्तै, मनाङका किपर दीप कार्की उत्कृष्ट किपर बने भने थ्री स्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्डर, मच्छिन्द्रका विशाल राई ‘बी’ उत्कृष्ट मिडफिल्डर बन्दा आर्मीका कप्तान भरत खवास उत्कृष्ट स्ट्राइकर बने।
यस्तै, मच्छिन्द्रका प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक बने भने एआरटीका दर्शन गुरुङ उत्कृष्ट युवा खेलाडी बने। दर्शनले एक लाख रुपैयाँ प्राप्त गर्दा अन्य विधागत उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे। थ्रीस्टार क्लबले फेयर प्ले बन्दै एक लाख रुपैयाँ प्राप्त गर्यो। यस्तै, एपिएफका आशिष लामा सर्वाधिक गोलकर्ता बने। उलने कुल ९ गोल गरेका थिए।
लिगमा शीर्ष ६ भित्र अटाएका टोलीले आगामी वैशाखमा हुने राष्ट्रिय लिग खेल्ने छन्। यो सिजन सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ। उसले लिगमा एक जित र एक बराबरीसँगै ४ अंक जोडेको थियो।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
