Kathmandu Press

राखेपका सदस्य सचिव घिसिङ र मन्सुरीबीच भेट

राखेपका सदस्य सचिव घिसिङ र मन्सुरीबीच भेट

काठमाडौं, साउन ५ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ। 

चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन् । उक्त भेटका अवसरमा सदस्य सचिव घिसिङले मन्सुरीसँग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

इरानका पूर्वमुख्य प्रशिक्षक सातौँ डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासङ्घ (आइजेएफ) ले पठाएको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए। “तत्कालका लागि उनी (मन्सुरी) लाई १९औँ एशियाली खेलकुदको तयारीमा केन्द्रित गराउने छौँ । थप कुरा एशियाली खेलकुदपछि हुनेछ”, अध्यक्ष वज्राचार्यले भने।

हाङझाव एसियाडका लागि जुडोबाट चार पुरुष र चार महिला गरी आठ खेलाडी प्रशिक्षणमा छन् । उनीहरुले नयाँबजारको खुसीबुस्थित बहुउद्देश्यीय मार्सल केन्द्र (एमएमएसी) मा दिनको दुई चरणमा प्रशिक्षण गरिरहेका छन् ।

प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्