नेपाली महिला फुटबल टिमलाई युनिलिभरको प्रायोजन
सम्झौता पत्रमा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र युनिलिभर नेपालमा प्रबन्ध निर्देशक आमलाल मुखर्जीले हस्ताक्षर गरे। प्रायोजन वापत युनिलिभरले वार्षिक २५ लाख रुपैयाँ उपलब्ध गराउने छ।
काठमाडौं, साउन २ : नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले प्रायोजन गरेको छ। मंगलबार अखिल नेपाल फुटबल संघ र युनिलिभर नेपालबीच प्रयोजन सम्बन्धीमा सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौता पत्रमा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र युनिलिभर नेपालमा प्रबन्ध निर्देशक आमलाल मुखर्जीले हस्ताक्षर गरे। प्रायोजन वापत युनिलिभरले वार्षिक २५ लाख रुपैयाँ उपलब्ध गराउने छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले नेपाली महिला फुटबलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण भएको बताए । नेपाली महिला टोलीले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कडा मिहिनेत गरेको भन्दै मन्त्री लिम्बुले प्रशंसा गरे।
कार्यक्रममा महिला टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले सम्झौताले महिला सशक्तिकरणमा सहयोग गर्ने र भविष्यमा फुटबल खेल्न चाहने महिला खेलाडीलाई हौसला दिने बताइन्।
एन्फा अध्यक्ष नेम्वाङले सम्झौतालाई ऐतिहासिक भन्दै पुरुषसँगै महिला फुटबलको विकासमा पनि एन्फाले सक्दो काम गर्ने बताए । उनले महिला फुटबलको विकासमा एन्फाले योजना बनाएर अघि बढेको र मिसन महिला विश्वकप अभियान २०२७–२०३१ सुरु गरिसकेको बताए।
युनिलिभर नेपालका म्यानेजिङ डिरेक्टर आमलाल मुखर्जीले महिला विश्वकप खेल्ने नेपालको लक्ष्यमा यो सम्झौताले सहयोग पुग्ने बताए। उनले नेपालको विश्वकप खेल्ने सपना महिला फुटबलले पूरा गर्नेमा आशावादी रहेको बताए।











