दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’ आउँदै
काठमाडौं, फागुन २ : युवा पुस्ताकी चर्चित स्तम्भकार दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ पुस्तक आउन लागेको छ। पब्लिकेसन नेपालयले सन् २०२० को ....

काठमाडौं, फागुन २ : युवा पुस्ताकी चर्चित स्तम्भकार दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ पुस्तक आउन लागेको छ। पब्लिकेसन नेपालयले सन् २०२० को पहिलो पुस्तकका रुपमा उनको पुस्तक प्रकाशन गर्न लागेको हो।
यस पुस्तकमा सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथा समावेश छन्। ‘दुर्गा कार्कीको पुस्तकबाट २०२० को आफ्नो प्रकाशन सुरू गर्न पाएकोमा हामी एकदम हर्षित छौं। आफ्नो लेखनमार्फत उनी सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत हुन्छिन्। लिङ्गभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्छिन,’ नेपालयकी भूषिता वशिष्ठले भनिन्, ‘चातुर्यपूर्ण गद्य शैली र आकर्षक कथा बुनावट कार्की को विशेषता हो। उनको यही शैलीले उनलाई अखबार लेखनमा ख्याति र लोकप्रियता दिलाएको छ।’
दुर्गाले आफ्नो कथा लेखनमार्फत ताजापन बोकेर आएको नेपालयकी सीईओ सैजन मास्केले बताइन्। ‘मलाई आशा छ यो किताबले बजारलाई उत्साही बनाउने छ र पुनर्जीवन दिनेछ,’ उनले भनिन्।
पुस्तकको पहिलो प्रति पाउँदा खुशी लागेको कथाकार कार्कीले बताइन्। ‘किताबको पहिलो प्रति पाउँदा समेत मलाई मेरा कथाहरू साँच्चिकै किताबको रूपमा आए भनेर विश्वास नै लागेन, यिनमा काम गरेर साँच्चै सकियो र भन्ने लागिरह्यो,’ कार्कीले भनिन्, ‘यी प्रत्येक कथालाई मैले कम्तीमा पनि बीस पटक पढेकी छु, हरेक पटक केही न केही थपघट गरेकी छु र कतिलाई त महिनौँ सोचाइको गर्भमा बोकेर हिँडेकी छु।’
‘कुमारी प्रश्नहरू’ उनको पहिलो पुस्तक कृति हो। यो पुस्तक फागुन ९ गते सार्वजनिक गरिने नेपालयले जनाएको छ।











