Kathmandu Press

कक्षा ११ मा भर्ना : भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा?

कक्षा ११ मा भर्ना : भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा?

काठमाडौँ, साउन १ : माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन्। कक्षा ११ र १२ अध्यायन हुने अधिकांश शिक्षालयमा प्रवेश परीक्षाको प्रबन्ध गरिएकाले विद्यार्थी एकभन्दा धेरै विद्यालयमा परीक्षा दिन व्यस्त भएका छन्। उनीहरुले प्राप्त स्तरीकृत अंकका आधारमा कुन शिक्षालयमा छात्रवृत्ति वा कति शुल्क छुट पाइन्छ भनेर चासोपूर्वक बुझिरहेका छन्।
       
कतिपय ठुला भनिएका निजी क्षेत्रका कलेजसमेतले कक्षा ११ मा भर्ना प्रक्रिया लगभग पूरा गरिसकेका छन्। परीक्षाको वार्षिक कार्यतालिका अनुसार भर्नाको राष्ट्रिय क्यालेन्डर लागु नहुँदा विद्यार्थी र अभिभावकमा एक प्रकारको अन्योल देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसको समग्र व्यवस्थापनका लागि केन्द्रीय शैक्षिक निकाय र सम्बन्धित स्थानीय तहले समन्वय गर्नुपर्नेमा आफूहरुले स्मरण गराएको बताए। बोर्डले स्तरीकृत परीक्षाका लागि जोड दिँदै आएको छ।
       
काठमाडौँ महानगरपालिकाले एसइईको नतिजा प्रकाशन भएको १५ दिनसम्म भर्नाका लागि समय दिन सार्वजनिक सूचना गरेको छ भने छात्रवृत्तिका लागि परीक्षा आफैँले लिने तयारी गरेको छ। महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०/८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ गतेदेखि साउन १२ गतेसम्म अनलाइन आवेदन फाराम भर्न सूचनामा भनिएको छ। छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ।

महानगरपालिकाले कक्षा ११ मा निजी (संस्थागत) विद्यालयले लिने शुल्कको विवरण भर्नाअगावै उपलब्ध गराई स्वीकृत गराउन पनि निर्देशन दिएको छ। मुलुकका अधिकांश स्थानीय तहले भने व्यवस्थितरुपमा कक्षा ११ र १२ को शिक्षाबारे अनुगमन र निर्देशनमा ध्यान दिन सकेका छैनन्।

कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ अंक प्राप्त गरेका विद्यार्थी योग्य हुनेछन्। यसका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रले गरेको पत्राचारका आधारमा राष्ट्रिय परीक्षा बोर्डले सोबारे सूचित गराइसकेको छ।
       
पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले आफ्नो विद्यालयमा कक्षा ११ मा विज्ञान विषय पढ्न ८० विद्यार्थीको कोटा रहेकामा पहिलो चरणमा यही साउन ३ गते प्रवेश परीक्षा लिइने र कोटा पूरा नभए अर्को परीक्षा लिइने जानकारी दिए। पर्याप्त प्रयोगशाला अभावकाका कारण विद्यालयले विद्यार्थीको कोटा बढाउन सकेको छैन। विद्यार्थीले विषय र शिक्षालय रोज्दा साथीसाथीको लहैलहैमा लागेर नभई भोलिको आफ्ना योजना के छ, त्यसलाई पूरा गर्न कहाँ सहज हुन्छ भन्ने आधारमा विद्यालय छान्न उनले सुझाव दिए।
       
जेभियर इन्टरनेशनल स्कुलका प्रबन्ध निर्देशक लोकबहादुर भण्डारीले विद्यार्थीले सुनेको सूचनाका आधारमा मात्र नभई आफैँले सामाजिक सञ्जालबाट अध्ययन र स्थलगत अवलोकन गरेर शिक्षालयको गुणस्तर, उचित वातावरण, शिक्षण प्रक्रियाको टुल्स, अन्तर्राष्ट्रियस्तर आदि हेरेर विषय र विद्यालय रोज्ने गरेको पाइएको बताए। जिपिए ४ ल्याउने कतिपय विद्यालय आफ्नो कलेजमा भर्नाका लागि आएको उल्लेख गर्दै उनले निजी शिक्षालयबीच हुने स्वच्छ प्रतिस्पर्धालाई सबैले स्वीकार्नुपर्नेमा जोड दिए।

नेपाली उपभोक्ता महासङ्घका प्रवक्ता लुमडी कार्कीले उस्तै विषय उस्तै शिक्षालयमा पढ्न कतै वर्षमा रु ५० हजार भए हुने र कतै रु पाँच लाखसम्म लाग्ने स्थिति देखिएकाले यसबारे आफूहरुले स्थलगत अध्ययन गरी प्रतिवेदन ल्याउने तयारी गरेको जानकारी दिए। 

उनले उपभोक्तालाई हुने यस प्रकारको भ्रम चिर्न र ठगी रोक्न कानुनी उपचारमा जान आफूहरु बाध्य हुने बताए। हाल कक्षा ११ र १२ मा सामुदायिक तीन हजार छ सय ८६, निजी एक हजार एक सय ३२ र धार्मिक २८ गरी चार हजार आठ सय ४६ विद्यालय छन्। शिक्षा तथा मानवस्रोत केन्द्रका अनुसार शैक्षिकसत्र २०७९ मा कक्षा ९ देखि १२ सम्ममा ७५ दशमलव चार प्रतिशत खुद भर्नादर रहेको छ भने कक्षा १२ सम्मको टिकाउ दर ३५ दशमलव छ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७९÷८० को फागुनसम्मको अवधिमा कूल सात हजार नौ सय ३७ ले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र लिएको आँकडा छ।
       
 बोर्डका अनुसार यस वर्ष जिपिए शून्य दशमलव ८० देखि एक दशमलव  २० ग्रेडमा २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत र जिपिए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत छन्। उनीहरुले ग्रेडवृद्धिको परीक्षामा नतिजा नसुधारेसम्म कक्षा ११ मा भर्ना पाउँदैनन्।

बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि आगामी साउन ५ गतेसम्म आवेदन दिन सूचना प्रकाशन गरेको छ। साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा र प्रक्रियाबमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन्।

नयाँ पाठ्यक्रम अनुसार विद्यार्थीले कक्षा ११ र १२ मा ६/६ वटा विषय पढ्नुपर्छ। नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणितमध्ये एक गरी तीनवटा अनिवार्य विषय हुन्। अन्य तीनवटा ऐच्छिक विषय विद्यार्थीले छनोट गर्नुपर्छ। चौथो ऐच्छिक विषय थप गरी पढ्न पाउने व्यवस्था पनि छ।

ऐच्छिक विषयलाई ४ समूहमा विभाजन गरिएको छ। पहिलो ऐच्छिक विषय समूहमा भौतिक विज्ञान, लेखाका सिद्धान्तहरू, ग्रामीण विकास, विधिशास्त्र र कानुनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान, बालविकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैंगिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बाली विज्ञान, प्राकृतिक चिकित्सा, मानवमूल्य शिक्षा र मूर्तिकला पर्छन्।

दोस्रो ऐच्छिक विषय समूहमा रसायन विज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, भाषाविज्ञान, व्यवसाय अध्ययन, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसंख्या अध्ययन, बागवानी, खाद्यपोषण, नृत्य पर्दछन्।
तेस्रो ऐच्छिक विषय समूहमा जीव विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, कम्प्युटर विज्ञान, बुढ्यौली शिक्षा तथा स्याहार शिक्षा, योग तथा अध्ययन, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, आमसञ्चार अध्ययन, संस्कृति, फेसन डिजाइनिङ, मूर्तिकला, पशुपालन, पक्षीपालन र माछापालन, नेपाली, अंग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापानिज, कोरियन, उर्दू, फ्रेन्च, हिब्रु, अरेबिक, संस्कृत, पाककला र बजारशास्त्र छन्  ।

चौथो ऐच्छिक विषय समूहमा गणित, प्रायोगिक गणित, वाणिज्य गणित, मानवअधिकार, पुस्तकालय तथा सूचना विज्ञान, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध दर्शन, प्रायोगिक कला, गायन, चित्रकला, रेशमखेती र मौरीपालन, सौन्दर्यकला र केसकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ र वायरिङ, आन्तरिक सजावट र होटल व्यवस्थापन पर्दछन्।

विद्यार्थीले यी चारवटा समूहबाट ३ वटा विषय छानेर पढ्नुपर्छ। कुन विषय पढ्ने ? कुन विषय पढ्दा के बनिन्छ ? के विषय पढ्दा भोलिको क्यारियर कस्तो बन्छ ? यी विषयमा विद्यार्थीलाई राम्रो परामर्शको आवश्यक पर्दछ। त्यसैले विद्यालय, शिक्षक र अभिभावकले विद्यार्थीलाई सही परामर्श दिनुपर्छ। विद्यार्थीले राम्ररी बुझेर विषय छनोट गर्नुपर्छ।
विद्यार्थीको रुचि र क्षमता हेरेर विषय छनोट गर्नुपर्दछ। म के बन्ने ? रुचि, क्षमता, आवश्यकताअनुसार मैले कुन विषय पढ्नुपर्छ? विद्यार्थीले यस्ता कुरामा ध्यान दिनुपर्छ। आफ्नो आर्थिक अवस्था पनि हेर्नु जरूरी छ।

अभिभावकले विद्यालय र विषय छनाेट गर्दा आफ्ना बालबालिकासँग छलफल गर्नुपर्छ। विषय छनाेटमा विद्यार्थीलाई अनावश्यक दबाब दिने गर्नुहुँदैन। रोजगारमूलक विषय हो कि होइन हेर्ने, पढिसकेपछि हुने फाइदा बेफाइदा केलाउने गर्नुपर्छ।  विद्यालयको भौतिक स्थिति, शैक्षिक एवम् भौतिक व्यवस्थापन पनि विद्यालय छनाेट गर्दा ध्यान दिनुपर्छ। पढाउने शिक्षकहरू कस्ताे हुनुहुन्छ भनेर पनि ख्याल गर्नुपर्छ।  

 

प्रकाशित मिति: १७:४७ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्