Kathmandu Press

भलिबलमा पुरूषतर्फ हेल्प नेपाल र महिलातर्फ पुलिसले जिते उपाधि

भलिबलमा पुरूषतर्फ हेल्प नेपाल र महिलातर्फ पुलिसले जिते उपाधि

काठमाडाैं, असार ३० : टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि जितेको छ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार भएको फाइनलमा हेल्प नेपालले ३–१ को सेटमा पुलिसलाई पराजित गर्दै च्याम्पियन बनेको हो। उपाधिसँगै हेल्प नेपालले रु ६ लाख र उपविजेता पुलिसले रु ३ लाख प्राप्त गरेको छ। हेल्प नेपालले पहिलो सेट २५–१९ ले जितेको थियो।

पुलिसले दोस्रो सेट २५–११ ले जितेपछि सेट १–१ को बराबरी भएको थियो। त्यस्तै तेस्रो सेटमा हेल्प नेपाल २५–१८ ले विजयी हुँदै सेटमा २–१ को अग्रता लिएको थियो भने चौथो सेटमा २५–१८ का साथ हेल्प नेपाल च्याम्पियन बनेको हो।

महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको छ। पुलिसले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा हराएको थियो। च्याम्पियन पुलिसले ६ लाख र एपिएफले ३ लाख प्राप्त गरेको छ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिम तथा पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिम सहभागी थिए। 

प्रकाशित मिति: १७:४५ बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्