चीनबाट नेपाली विद्यार्थी ल्याउने यस्तो छ तयारी
काठमाडौं, फागुन १ : चीनको वुहान शहरमा रहेका एक सय ८० नेपाली विद्यार्थीलाई स्वदेश फिर्र्ता ल्याउन शनिबार नेपाल वायुसेवा निगमको जहाज पठाइने भएको छ। यसका....

काठमाडौं, फागुन १ : चीनको वुहान शहरमा रहेका एक सय ८० नेपाली विद्यार्थीलाई स्वदेश फिर्र्ता ल्याउन शनिबार नेपाल वायुसेवा निगमको जहाज पठाइने भएको छ। यसका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।
निगमको एयरबस ३३० (वाइडबडी) विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो २ः४५ बजे चीनको लागि उड्ने जनाएको छ। निगमका अपरेसन विभागका प्रमुख दिपु जुहार्चनका अनुसार उद्धारका लागि आन्तरिक सबै तयारी पूरा भएको छ।
स्वदेश ल्याइने विद्यार्थीका लागि विमानका सिटमा प्लास्टिक कबर राख्ने, विमानभित्र स्यानिटाइजर, मास्कलगायतका अति आवश्यक सामाग्रिहरु राखिनेछन्।
चीन जान र आउन करिव नौदेखि १० घन्टा लाग्ने (दुईतर्फी उडान) अनुमान गरिएको छ। ‘तर, उता गएर कति समय रोकिनुपर्छ थाहा छैन्, विद्यार्थीलाई छिट्टै राख्न सकियो भने हामी रातिको २ः१५ बजे नेपाल आइसक्ने गरि तयारी गरेका छौँ,’ जुहार्चनले भने।
रातको समयमा विमानस्थलमा खासै भिडभाड नहुने भएकाले राति ल्यान्ड गर्ने तयारी गरिएको छ। चीनबाट काठमाडौं आएपछि विमान पूर्वपतिरको पार्किङ–वेमा लगेर राखिनेछ।
विमानमै रहँदा विद्यार्थीको पासपोर्ट सबै जम्मा गरेर अध्यागमनका कर्मचारीलाई दिईनेछ। पार्किङ–वेमै स्वास्थ्य परीक्षण हुनेछ। पार्किङ–वेमा रहेका पाँच वटा बसमा राखेर क्यारोन्टाइनमा लगिनेछ।
विमानमा चार चिकित्सकसहित १७ जना रहने
उद्धारका लागि नेपाली सेनाका चार जना चिकित्सक जानेछन्। त्यस्तै, नेपाल वायुसेवा निगमका तीन जना क्याप्टेन, ६ जना क्याबिन क्रु, एक जना इन्जिनियर, एक जना प्राविधिक, एक जना फ्लाइट डिस्प्याचर र एक जना लोड मास्टर रहनेछन्। अपरेसन विभाग प्रमुख जुहार्चनका अनुसार उद्धारका लागि चीन जाने सबैको विवरण गोप्य राखिनेछ।
बुधबार वायुसेवा निगमका स्वास्थ्य मन्त्रालय, नेपाली सेना र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले चीन जाने सदस्यहरुलाई तालिम दिएका थिए। उक्त तालिममा चिकित्सकहरुले ‘पर्सनल प्रोटेक्टिभ इक्युभमेन्ट (पीपीई)’ प्रयोगबारे सिकाएका थिए।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न देशले आफ्ना नागरिकलाई फिर्ता लगेका छन्। वुहानमा रहेका १८० विद्यार्थीले पनि चार साता अघि स्वदेश फिर्ताका लागि निवेदन दिएका थिए। तर, सरकारले ढिलाइले अहिलेसम्म फिर्ता ल्याउन सकिएको छैन।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
