सावित्राको गाेलमा नेपाल हारबाट जोगियो
ढाकास्थित मुस्तफा कमल स्टेडियममा भएको खेलमा सावित्राको गोल मद्दतमा नेपाली महिला फुटबल टिमले घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो।
काठमाडाैं,, असार २८ : स्टार स्ट्राइकर सावित्रा भण्डारीले इन्जुरी समयको गरेको गोल मद्दतमा नेपाल मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ। ढाकास्थित मुस्तफा कमल स्टेडियममा भएको खेलमा सावित्राको गोल मद्दतमा नेपाली महिला फुटबल टिमले घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो।
खेलमा नेपालले सुरुआतदेखि नै निरन्तर दबाब बनाएको थियो। तर, गोल भने गर्न सकेन। नेपालको दबाबका बाबजुद घरेलु टोलीले ६५औं मिनेटमा सुरुआती अग्रता लियो। उसका लागि सविना खातुनले गोल गरिन्।
१ गोलले पछि परेको नेपाल हारतर्फ उन्मूख थियो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा सावित्राले गोल गर्र्दै नेपाललाई हारबाट जोगाइन्। त्यसपछि गोल नहुँदा खेल १–१को बराबरीमा सकियो।
गत वर्ष भएको साफ च्याम्पियनसिप फाइनलपछि नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको हो। फाइनलमा नेपाल ३–१ले पराजित भएको थियो।
एसियन गेम्सको तयारीका लागि नेपालले बंगालदेशसँग मैत्रीपूर्ण खेले खेलेको हो। दोस्रो खेल आइतबार हुने छ।











