नवनियुक्त प्रहरी महानिरीक्षकले प्रहरीलाई दिए यस्तो निर्देशन
काठमाडौं, फागुन १ : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सङ्गठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा उत्कृष....

काठमाडौं, फागुन १ : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सङ्गठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले सङ्गठनले स्थापित गरेको मूल्यमान्यतालाई आत्मसात गरी दायित्व पूरा गर्न आग्रह गरे । पीडितमैत्री, नागरिक केन्द्रित र जनउत्तरदायी प्रहरी सेवा प्रवाह गर्र्नुपर्नेमा जोड दिँदै उनले थप सुदृढीकरणका साथ सेवा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । प्रहरी महानिरीक्षक ज्ञवालीले शान्ति सुरक्षा कायम गर्ने तथा अपराधको अनुसन्धानमा एक व्यक्तिको भन्दा सामूहिक प्रयासमा सफलता हासिल हुने विचार व्यक्त गर्दै प्रविधिबाट सिर्जित अपराध नियन्त्रणका लागि प्रहरीले उपलब्ध नवीनतम् प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।
उनले विध्वंसात्मक गतिविधि नियन्त्रणमा थप सजग एवं सचेत हुनुसमेत आग्रह गरेका छन् । एक प्रहरी कर्मचारीले सिङ्गो प्रहरी सङ्गठनको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उनले गौरवमय इतिहास बोकेको प्रहरीको छविलाई थप उचाइमा लैजान सबै प्रहरी कर्मचारीले आपसी भ्रातृत्वभावमा थप सुधार गर्दै सुम्पिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । उनले व्यक्तिगत स्वार्थभन्दा पनि सङ्गठनको हितमा लाग्न आग्रह गरे ।
उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायब महानिरीक्षक, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानको उपस्थिति थियो ।











