एनभिए भलिबल क्लब लिग : महिला तर्फको खेलमा एपीएफ विजयी
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बिहीबार भएको खेलमा न्यु डायमन्ड स्पोर्टस एकेडेमीलाई एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो
काठमाडाैं, असार २८ : काठमाडौंमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिला तर्फको खेलमा विभागिय टोली नेपाल एपीएफ क्लब विजयी भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बिहीबार भएको खेलमा न्यु डायमन्ड स्पोर्टस एकेडेमीलाई एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो। एपीएफ २५–१९, २५–१८ र २५– १२ को सेटमा विजयी भएको हो। जितसँगै एपीएफले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
त्यस्तै बिहीबार नै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एभरेष्ट क्लबमाथि ३–० को सोझो सेटमा जित हासिल गरेको छ।
आर्मीले एभरेष्टलाई २५–१२, २५–१९ र २५–१९ ले पराजित गरेको हो। प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ। महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल असार ३० गते हुने भलिवल संघले जनाएको छ।











