एसिसी इमर्जिङ टिम्स कपका लागि नेपाली टिमको घोषणा, सूर्य, मौसम, देव र सन्दीपलाई मौका
इमर्जिङ टिम्स कपको टिममा विश्वकप छनोट खेलेका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी अटाउन सकेनन्।
काठमडाैं, असार २२ : आसन्न एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टिमको घोषणा गरिएको छ। जिम्बाबेबाट विश्वकप छनोट खेलेर फर्किएलगत्तै अर्को साताबाटा सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय टिम घोषणा गरेको हो।
विश्वकप छनोट खेलेका ४ खेलाडीलाई बाहिर राख्दै मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा घोषणा गरेका हुन्। इमर्जिङ टिम्स कपको टिममा विश्वकप छनोट खेलेका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी अटाउन सकेनन्।
ज्ञानेन्द्र र करणलाई आराम दिइँदा सन्दीप र दीपेन्द्र ग्लोबल टि–२० लिग खेल्न क्यानडा जाने भएकाले टिममा नपरेका हुन्। उनीहरुको स्थानमा स्पिनरद्वय मौसम ढकाल र सूर्य तामाङ, फास्ट बलर किशोर महतो, ब्यट्सम्यान देव खनाल र सन्दीप जोराले मौका पाएका छन्। किशोर महतो जिम्बाबे गएपनि सोमपाल कामी घाइते भएपछि मात्र उनी टिमको सदस्य बनेका थिए। उनले आयरल्यानडविरुद्धको अन्तिम खेल खेलेका थिए।
प्रतियोगिता श्रीलंकामा जुलाई १४ बाट २३ तारिखसम्म आयोजना हुनेछ। प्रतियोगतामा ५ टेस्ट राष्ट्र र ३ एसोसिएट गरी ८ टिम सहभागी छन्। जसमा नेपाल भारत र पाकिस्तानसँगै समूह बीमा छ । यो समूहमा युएई पनि छ।
प्रतियोगितामा टेस्ट राष्ट्रले ए टिम खेलाउने छन्। प्रतियोगितामा नेपालले पहिलो खेल पाकिस्तानसँग जुलाई १४मा खेल्ने छ भने जुलाई १७मा भारत र जुलाई १९मा युएईसँग खेल्ने छ। समूहका शीर्ष २ टिम सेमिफाइनल पुग्ने छन्।
नेपलाी टिमः कुशल भुर्तेल, आरिफ सेख, अर्जुन साउद, रोहित पौडेल, कुशल मल्ल, आरिफ सेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, सन्दीप जोरा, सूर्य तामाङ ।











