नेपालको एक खेल बाँकी छदै ओमानले जित्यो सिरिज
काठमाडौं, माघ २८ : विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नेपाल ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृंखला ओमानले जितेको छ। मंगलबार टियू मैदानमा भए....

काठमाडौं, माघ २८ : विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नेपाल ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृंखला ओमानले जितेको छ। मंगलबार टियू मैदानमा भएको खेलमा अमेरिकामाथि ९२ रनको सानदार जित निकाल्दै ओमानले श्रृंखला जितेको हो।
यसअघि ओमानले नेपाललाई दुई खेलमा १८ रन र आठ विकेटले हराएको थियो भने अमेरिकालाई पहिलो खेलमा ६ विकेटले हराएको थियो। यो जितसँगै ओमानले लिग–२ को शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ।
लिगका १० खेलमा ओमानले आठ जितका साथ १६ अंक जोडेको छ भने अमेरिका १२ अंकका साथ दोस्रो स्थानमा छ। ओमानले दुई खेल आफ्ना राजाको मृत्युपछि खेलेको थिएन।
मंगलबार भएको खेलमा ओमानले दिएको दुई सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिका ३९.१ ओभरमा एक सय ८४ रनमै अलआउट भयो। अमेरिकाका लागि निसर्ग पटेलले ५२ रन बनाए भने आरोन जोन्सले ४७, इयान हल्यान्डले २८ र जाभियर मार्सलले २३ रन बनाए।
अमेरिकालाई सस्तैमा समेट्ने क्रममा बिलाल खान र अकिब इल्यासले तीन–तीन विकेट लिए। यस्तै, कप्तान जिसन मक्सुदको नाममा दुई विकेट रह्यो।
यसअघि टियू मैदानमा कबिल इल्यास र जिसन मक्सुदले शतकीय इनिङ खेल्दै कीर्तिमानी साझेदारी गरेपछि ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ७६ रनको विशाल स्कोर बनायो। मक्सुदले १०९ रन बनाए भने अकिबले १०५ रन बनाए।
मक्सदुले १०९ बलमा १० चौका चार छक्का प्रहार गरे भने अकिबले १२३ बलमा ११ चौका र एक छक्का प्रहार गरे। यी दुईले तेस्रो विकेटका लागि २१६ रनको कीर्तिमानी साझेदारी गरेक थिए।
यो लिग–२ को सर्वाधिक ठूलो साझोदारी हो। यसअघि नेपालमाविरुद्ध यी दुईले नै १६७ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए।
अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरोनले समान ३ विकेट लिए।
त्रिकोणात्मक श्रृंखलाअन्तगर्तको अन्तिम खेल बुधबार नेपाल र अमेरिकाबीच हुनेछ।











