विश्वकप छनोटमा सोचेअनुसार नतिजा नआए पनि धेरै अनुभव प्राप्त भयाे : कप्तान रोहित
शुक्रबार स्वेदश फर्किएको राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले स्वागत गरेका थिए।
काठमाडाैं, असार २२ : जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ।
शुक्रबार स्वेदश फर्किएको राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले स्वागत गरेका थिए।
प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई मात्र हराएको थियो। प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुंग्याएको थियो।
स्वदेश फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआए पनि धेरै अनुभव प्राप्त भएको बताए।
उनले अहिलको अनुभवलाई आगामी प्रतियोगीतामा प्रयोग गर्ने उल्लेख गरे। टेष्ट राष्ट्रहरुसंग खेल्दा निकै उत्साहित भएको र नेपाली टोलीले निकै राम्रो खेलेको उनले बताए।
त्यस्तै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन राम्रो देखिएको बताए। सोचेजस्तो लक्ष्य हासिल नभए पनि आगामी प्रतियोगितामा राम्रो तयारी गर्ने उनले बताए।
उनले राष्ट्रिय क्रिकेट टिम थप बलियो हुँदै गएको पनि बताए।











