Kathmandu Press

ठाकुरप्रसाद ज्ञवाली नयाँ प्रहरी महानिरीक्षक

काठमाडौं, माघ २८ : नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवालीको बढुवा गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठक....

ठाकुरप्रसाद ज्ञवाली नयाँ प्रहरी महानिरीक्षक

काठमाडौं, माघ २८ : नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवालीको बढुवा गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई महानिरीक्षकमा बढुवा गरेको हो।

प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवाली नेपाल प्रहरीको २७औं महानिरीक्षक बन्नेछन्। आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने भएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो।

ज्ञवाली २०७५ असोजमा एसएसपीबाट डीआईजी र २०७३ असारमा एसपीबाट एसएसपीमा बढुवा भएका थिए। आईजीपीमा बढुवा गर्नका लागि कोही एआईजी नभएका कारण यसपटक पनि सिधै डीआईजीबाट बढुवा गरिएको छ।

प्रहरी नियमावली २०७२ को बढुवासम्बन्धी दफा ४१ अनुसार ‘प्रहरी अतिरिक्त महानिरीक्षक नभएको अवस्थामा नायव महानिरीक्षकबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ,’ भन्ने व्यवस्था छ।

आईजीपी खनालसँगै एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीले पनि मंगलबारबाटै अवकास पाउँदै छन्।

जसले गर्दा यस पटक पनि डीआईजीबाटै आईजीपी नियुक्त गरिएको हो। ज्ञवालीले २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए।

आईजीपीको दौडमा दुई डीआईजी तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय पनि थिए। उनीहरु पनि ज्ञवालीसँगै सेवा प्रवेश गरेका अधिकृत हुन्।

आईजीपीमा बढुवा भएका ज्ञवाली ३० वर्षे सेवाअवधि कायम रहे आगामी असार २४ गतेसम्म मात्रै सेवामा रहने छन्। त्यसपछि २०४९ मा सेवा प्रवेश गरेका अधिकृतहरु मध्येबाट आईजीपी चयन गरिनेछ।

प्रकाशित मिति: १७:१२ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्