दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा युएईमाथि नेपाल जित
जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोटका सातौं स्थानको प्लेअफको सेमिफाइनलमा लगातार विकेट गएपछि दबाबमा परेको इनिङ दीपेन्द्रले सम्हालेपछि नेपालले युएईले ३ विकेटले हरायो।
काठमाडाैं, असार १७ : दीपेन्द्रसिंह ऐरीले उत्कष्ट ब्याटिङ प्रदर्शन गरेपछि नेपाल युएईविरुद्ध जित निकालेको छ। जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोटका सातौं स्थानको प्लेअफको सेमिफाइनलमा लगातार विकेट गएपछि दबाबमा परेको नेपालको इनिङ दीपेन्द्रले सम्हालेपछि नेपालले युएईले ३ विकेटले हरायो।
अब नेपालले प्लेअफको फाइलनमा टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्ने छ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल मंगलबार हुनेछ।
पहिला ब्याटिङ गर्दै युएईले दिएको १८२ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत राम्रो हुन सकेन्। ओपनर कुशल भुर्तेलले राम्रो ब्याटिङ गरेपछि अर्को इन्डबाट लागतार विकेट गएपछि नेपाल ५५–५को खराब अवस्थामा पुगेको थियो।
त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रले नेपालको इनिङ सम्हाल्दै नेपाललाई जित दिलाए। नटआउट रहेका दीपेन्द्र ७९ रन बनाए। उनले ८५ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे।
नेपालको जितमा दिपेन्द्रसँगै सन्दीप लामिछानेको भूमिका पनि उत्तिकै रह्यो। उनले बल र ब्याट दुवैमा राम्रो प्रदर्शन गरे। उनले आठौं विकेटका लागि दीपेन्द्रसँग ९० बलमा ७९ रनको महत्वपूर्ण साझेदारी गरे। दीपेन्द्रले सातौं विकेटका लागि गुल्सन झासँग ४३ रनको साझेदारी गरेका थिए।
सन्दीपले ३७ बलमा २ चौका प्रहार गर्दै २३ रन बनाउँदा कुशलले ५९ बलमा ४ चौका प्रहार गर्दै ३५ नर बनाए। यस्तै ज्ञानेन्द्र मल्लले १३ र गुल्सनले १२ रन बनाए।
त्यसअघि पहिला ब्याटिङ गरेको युएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन बनायो। युएईका लागि कप्तान वृत्य अरविन्दले सर्वाधिक ४४ रन बनाउँदा रोहन मुस्तफाले ३५, विशाल हमिदले २९ र अर्यान्स शर्माले २८ रनको योगदान दिए।
युएईलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडनसहित २३ रन मात्र खर्चिए भने करणले ८।५ ओभरमा ३६ रन खर्चिए। यस्तै, प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले पनि विकेट लिए।











