Kathmandu Press

अभिभावकहरुको रोदन- चीनमा रहेका विद्यार्थीलाई छिटो नेपाल फर्काइयोस्

काठमाडौं, माघ २७ : चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै गम्भिर पहलकदमी नचालेको उनीहरुका अभिभावकले गुनासो पोखेका छन....

अभिभावकहरुको रोदन- चीनमा रहेका विद्यार्थीलाई छिटो नेपाल फर्काइयोस्

काठमाडौं, माघ २७ : चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै गम्भिर पहलकदमी नचालेको उनीहरुका अभिभावकले गुनासो पोखेका छन्।

चीनमा रहेका कोही पनि नेपालीहरु ‘नोवल कोराना भाइरस’ बाट संक्रमित नभएको भन्दै उनीहरुले जतिसक्दो चाँडै आफ्ना आफन्तलाई नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका हुन्। 

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनीहरुले सरकारले चीनमा बन्धकको अवस्थामा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि गम्भिरता नदेखाएकोमा भने कडा आपत्ति जनाए। ती विद्यार्थीहरुको उद्धारका लागि आफूहरुले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको अभिभावकहरुको गुनासो छ।

कतिसम्म भने चीनमा बन्धकको अवस्थामा रहेका नेपालीहरुले पनि आज भिडियो कलमार्फत नेपाली सञ्चारकर्मीहरुसँग चाँडै नेपाल झिकाउनको लागि पहल गरिदिन आग्रह गरेका थिए। चीनमा रहेको नेपाली दूतावासले पनि कुनै ठोस जवाफ दिन नसकेको ती विद्यार्थीहरुको गुनासो छ। 

कार्यक्रममा चीनमा रहेकी विद्यार्थीकी अभिभावक सोमिला कक्षपतीले कोरोना भाइरसबारे नै आम मानिसहरुमा सही जानकारी नभएको स्पष्ट पारिन्।

उनले भनिन्,‘यसको उपचार कहीँ पनि छैन। चीनमा रुघोखोकीको बेग्लै ट्रिटमेन्ट र निमोनियाको बेग्लै उपचार गरिन्छ। हाम्रो पनि त्यही गर्ने हो। यो भाइरस हावाबाट सर्दैन भनेर भनिसकिएको छ। र, चीनमा रहेका नेपालीहरु कोही पनि यो भाइरसबाट संक्रमित छैनन्।’

नेपाल सरकारले नेपालीहरुको उद्धारका लागि जतिसक्दो चाँडो कदम चाल्नुपर्ने उनको भनाइ छ। उनले भनिन्,‘भारतले आफ्ना नागरिकहरुको उद्धार गरिसकेको छ। उसले टेन्टमा राखेको छ। बंगलादेशले तन्नामा राखेको छ।’ नेपाल सरकारले फागुन ३ गते जहाज पठाउने कुरा गरेको मिडियामार्फत थाहा भएपनि यसबारेमा सरकारले आधिकारिक रुपमा केही जानकारी नदिएको उनको गुनासो छ। 

कार्यक्रममा अर्का अभिभावक रमेश बहादुर सिंहले पनि सरकारले उद्धारका लागि ठोस पहल नगरेको गुनासो पोखे। उनले भने,‘हामीले मन्त्रीहरुलाई भेट्यौं । उहाँहरुले सहानुभूति देखाउने र दुःखी छौं भनेरमात्रै हुँदैन्। उद्धार गर्नुपर्छ। मलाई अहिले तिर्खा लागेको छ, दश वर्षपछि पानी दिएर हुन्छ? अहिले हाम्रा सन्तानहरुको चीनमा यस्तै अवस्था छ। उनीहरुको कुरा सुन्दा हृदय काँप्छ। कहिले उद्धार गर्नुहुन्छ? हामीलाई भनेर उताबाट रोदन आइरहेको छ।’

सिंहले नेपाल सरकारले यतिका दिन बितिसक्दापनि किन ठोस कदम नचालेको होला? भन्दै प्रश्न गरे। 

अर्की अभिभावक लीलादेवी भट्टराईले पनि आफ्ना सन्तानहरु ठूलो पीडामा रहेको सुनाइन्। उनले भनिन्,‘चीनमा रहेका हाम्रा नेपालीहरुको जस्तो दुःख अरुले भोग्न नपरोस्। सरकारले जति ढिलो गर्छ, त्यति नै त्यहाँ रहेका नेपालीहरुमा संक्रमण हुने डर छ। तरुन्त नेपाल झिकाउन पहल गर्नुपर्छ।’ 

चीनमा एम.डी. अध्ययनरत अमित श्रीवास्तवकी श्रीमती पल्लवी श्रीवास्तवले पनि नेपाल सरकारले कहिले उद्धार गर्ने हो? त्यो कुरा मौखिक रुपमा नभई लिखित रुपमा सार्वजनिक गर्नुपर्ने माग गरिन्। उनले भनिन्,‘सरकारले उद्धार गर्ने भनेर त भनेको छ, तर यो समाचारमा कुनै विश्वास छैन। त्यसैले सरकारले लिखित रुपमा दिनुपर्‍यो।’

अर्का अभिभावक वसन्त भण्डारीले सरकारले आफूहरुको विलौना नसुनेकोमा आक्रोश पोखे। नेपालमा बस्ने अभिभावकहरुसमेत अहिले भयावह अवस्थामा रहेको उनको भनाइ छ। 

कार्यक्रममा चीनमै अध्ययनरत विद्यर्थाी मनोज सिंहले वुहानमा रहेका चिकित्सकहरुसँग नेपालबाट भिडियो कलमार्फत उनीहरुको बास्तविक अवस्था के रहेछ? भनेर जानकारी लिनको लागि सहयोग पुर्‍याएका थिए। 
 

प्रकाशित मिति: १९:४९ बजे, सोमबार, माघ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्