Kathmandu Press

भ्रमण वर्षको पहिलो महिनामै घटे नेपाल आउने पर्यटक

काठमाडौं, माघ २७ : भ्रमण वर्ष २०२० को पहिलो महिनामै नेपाल आउने पर्यटकको संख्या घटेको छ। अघिल्लो वर्ष सन् २०१९ को जनवरीको तुलनामा यो वर्षको जनवरीम....

भ्रमण वर्षको पहिलो महिनामै घटे नेपाल आउने पर्यटक
फाइल

काठमाडौं, माघ २७ : भ्रमण वर्ष २०२० को पहिलो महिनामै नेपाल आउने पर्यटकको संख्या घटेको छ। अघिल्लो वर्ष सन् २०१९ को जनवरीको तुलनामा यो वर्षको जनवरीमा नेपाल आउने पर्यटकको संख्यामा  करिब १६ सयले कमी आएको हो। 

सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर एक वर्षमा २० लाख पर्यटक भित्र्याउने सुरुवाती महिनामै नेपाल आउने पर्यटकको संख्यामा कमी आएको हो। 

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६ सय ८६ पर्यटक नेपाल भित्रिएका छन्। गत वर्ष यही समयमा ८१ हजार २ सय ६४ जना पर्यटक नेपाल भित्रिएका थिए। 

एक महिनाको अवधि (जनवरीमा) भारतवाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन्। सन् २०१९ मा भारतबाट १४ हजार ६ सय ५० पर्यटक आएका थिए। 

समग्र पर्यटकको तथ्यांकमा कमी आउँदा गत वर्षको तुलनामा भारतबाट नेपाल आउने पर्यटकको संख्यामा भने वृद्धि भएको छ। पछिल्लो समय सबैभन्दा धेरै पर्यटक नेपाल आउने देश नै भारत हो। 

त्यस्तै, सन् २०१९ को तुलनामा चीनवाट आउने पर्यटकको संख्यामा कमी आएको छ। चिनियाँ पर्यटकहरु भ्रमण गर्ने नयाँ वर्षमा चीनबाटै सुरु भएको कोरोना भाइरसका कारण पर्यटकको संख्यामा कमी आएको हो। 

सन् २०१९ मा १३ हजार ६ सय ८८ पर्यटक नेपाल आएकोमा सन् २०२० मा ३ सय ८५ ले कमी भई १३ हजार ३ सय ३ जना पर्यटक नेपाल आएका छन्। 

चिनियाँ पर्यटकसँगै सन् २०२० को जनवरीमा अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्यामा समेत ६ सय ४२ जनाले कमी आएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

अमेरिकाबाट सन् २०१९ जनवरीमा ७ हजार २८ जना पर्यटक नेपाल आएकोमा यो वर्षको जनवरीमा ६ हजार तीन सय ८६ जना पर्यटक नेपाल आएका छन्।

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०१९ मा एक सय ७२ राष्ट्रवाट ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भित्रिएका थिए। तीमध्ये हवाई मार्गवाट ९ लाख ९५ हजार ८८४ र स्थल मार्गवाट २ लाख १ हजार ३०७ विदेशी नेपाल आएका हुन्। 
 

प्रकाशित मिति: १७:३३ बजे, सोमबार, माघ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्