राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र क्यानडाका सभामुखबीच भेटवार्ता
काठमाडौं, माघ २७ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरीबीच भेटवार्ता ....

काठमाडौं, माघ २७ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरीबीच भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारमा भएको भेटमा उनीहरूबीच नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्य लगायतका विषयमा छलफल भएको थियो।
भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने बताए। 'दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो,' उनले भने,'म आशा गर्दछु भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणहरुको निरन्तरता हुनेछ।'
उनले दुवै देशका संसदमा संसदीय मैत्री समूह गठन भएकोमा खुसी व्यक्त गरे। 'संसदमैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्,' उनले भने।
क्यानडाको उपल्लो सदन (सिनेट) सभामुख जर्ज जे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताएका थिए। उनले नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय राज्य भएको बताउँदै यसबारे क्यानडा जानकार रहेको बताए। क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासमा सहयोग रहने प्रतिबद्धता जनाए।
सभामुख फ्युरी नेतृत्वको टोलीले सोमबार राष्ट्रियसभा बैठकको अवलोकन तथा नेपाल-क्यानडा संसदीय मैत्री समूहबीच अन्तर्क्रिया पनि गरेको छ।











