चीनबाट विद्यार्थी ल्याउन वाइड बडी जहाज पठाउने तयारी
काठमाडौं, माघ २७ : चीनमा कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ए–३३० जहाज पठाउने तयारी गरिएक....

काठमाडौं, माघ २७ : चीनमा कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ए–३३० जहाज पठाउने तयारी गरिएको छ।
चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमका पदाधिकारीबीच छलफल भएको छ। एक-दुई दिनभित्रै वाइड बडी जहाज चीन पठाउने तयारी भइरहेको निगमले जनाएको छ।
चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले बताइन्। ‘हामी आन्तरिक तयारीमै छौँ, सरकारले निर्णय गर्नासाथ वाइड बडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौँ,’ उनले भनिन्।
निगमको वाणिज्य विभागका अनुसार वाइड बडी जहाज पठाउँदा करीब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्नेछ। त्यसका लागि व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ।
पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइड बडी जहाज लैजाने विषयमा छलफल भएको र यसका लागि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए। ‘चीनमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज पठाउने विषयमा छलफल भएको छ, हाम्रोतर्फबाट तयारी भएकै छ, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि आफ्नो तयारी गरिरहेकै छ, अब यो विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ, त्यसपछि सबै काम सहज, सुलभ र व्यवस्थित ढङ्गले अघि बढ्छ,’ उनले भने।
चीनको वुहान शहरमा रहेका १८० नेपाली विद्यार्थीले स्वदेश फर्कन नेपाली दूतावासमा निवेदन दिएका थिए। तर, तीन साता वितिसक्दा पनि सरकारले खासै पहल गरेको देखिएको छैन।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
