पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु, कामदार झुण्डिएको अवस्थामा भेटिए
ललितपुर, माघ २७ : आफ्नै घरमा घाइते अवस्थामा भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको उपचारका क्रममा मृत्यु भएको छ। उनको घरमा काम गर्ने यु....

ललितपुर, माघ २७ : आफ्नै घरमा घाइते अवस्थामा भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको उपचारका क्रममा मृत्यु भएको छ। उनको घरमा काम गर्ने युवक झुण्डिएको अवस्थामा भेटिएका छन्।
आज बिहान उनी ललितपुर महानगरपालिका–२ सानेपास्थित आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनलाई तत्काल सानेपास्थित स्टार अस्पताल लगिएको थियो।
उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनको घाँटी र नाडीमा पनि निलडाम रहेको थियो।
उनको घरमा काम गर्ने दाङका विजय चौधरी पनि मृत भेटिएका छन्। उनी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए। ‘अहिले हामी घरमै छौं, अनुसन्धान गरिरहेका छौं,’ एसएपसी राईले भने।
कसले किन हत्या गरेको भन्ने खुलेको छैन। यसको छानविन भइरहेको एसएसपी राईले बताए।
आज बिहान पूर्वसचिव कार्की घरबाहिर निस्केका थिए। उनी घर फर्किदा श्रीमती लडिरहेको देखेपछि चिच्याएका थिए। त्यसपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी घर पुग्दा कार्की पत्नी मुना जीवितै रहेको भेटिएपछि अस्पताल लगिएको जनाएको छ।











