चीनबाट बिरामी ल्याउने हल्लाले भक्तपुरवासीको विरोध
काठमाडौँ, मा २७ : चीनमा फैलिएको कोरोना भाइरसका कारण सरकारले वुहानमा रहेका १८० जना नेपाली विद्यार्थीलाई उद्धार गर्न लागेको छ। उनीहरूलाई भक्तपुरको सूर्य....
काठमाडौँ, मा २७ : चीनमा फैलिएको कोरोना भाइरसका कारण सरकारले वुहानमा रहेका १८० जना नेपाली विद्यार्थीलाई उद्धार गर्न लागेको छ। उनीहरूलाई भक्तपुरको सूर्यविनायकस्थित खरिपार्टीमा राख्ने तयारी भइरहदा स्थानीय वासिन्दाले भने हल्लाकै भरमा विरोध जनाइरहेका छन्।
डेढ महिनादेखि चीनमा फैलिएको कोरोना भाइरसको महामारीबाट नौ सय जनाको मृत्यु भइसकेको छ। यसको संक्रमण ४० हजार जनामा देखिएको छ। संक्रमणको क्रम बढ्दै गएको छ।
विभिन्न देशले आफ्ना नागरिकलाई सुरक्षित राख्न स्वदेश फर्काएका छन्। नेपालले पनि वुहानमा रहेका १८० नेपाली विद्यार्थीलाई ल्याउने तयारी गरेको छ।
यसका लागि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणका दुइटा भवन खाली गरिएको छ। प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवन खाली गराइएको चाँगुनारायण नगरपालिका मेयर सोमप्रसाद मिश्रले बताए।
तर, स्थानीय वासिन्दाले भने हल्लाकै भरमा विरोध जनाइरहेका छन्। यस क्षेत्रमा त्रास फैलिएको मेयर मिश्रले बताए। ‘यहाँ हल्ला फैलाइएको छ। बिरामी ल्याउँदैछन् भन्ने हल्ला फैलिएको छ,’ मेयर मिश्रले भने, ‘जनचेतनाको पनि कमि छ, यसले गर्दा स्थानीय वासिन्दा विरोधमा उत्रिएका हुन्।’
चीनमा रहेका नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन। संक्रमण देखिएका व्यक्तिलाई चीनले पनि नेपाल ल्याउन अनुमति दिँदैन। यसको संक्रमण १४ दिनसम्म देखिने भएकाले उनीहरूलाई क्वारेन्टाइनमा राख्न पर्छ।
यो सबै आफूलाई जानकारी भएको मेयर मिश्र बताउँछन्। ‘चीनबाट नेपाली विद्यार्थी ल्याउँदा पनि स्वास्थ्य परीक्षण गरेर मात्रै ल्याइने हो, कसैमा संक्रमण देखिए पनि सिँधै अस्पताल लगिने हो,’ मेयर मिश्र भन्छन्, ‘यो सबै मलाई त थाहा छ, तर हल्लाका कारण स्थानीय वासिन्दालाई सम्झाउन सकिएको छैन।’
स्थानीय वासिन्दा र सरोकारवालासँग सरसल्लाह नगरि भवन खाली गराएकाले पनि हल्ला फैलिएको उनको बुझाइ छ। ‘हामीसँग कुनै सल्लाह नै नलिई भवन खाली गराइयो, त्यसले बिरामी ल्याउदैछन् भन्ने हल्ला फैलियो,’ मेयर मिश्र भन्छन्, ‘घना बस्तीबीच कोरोना भाईरसका बिरामी राख्न लागेको भन्ने हल्ला चलेकाले स्थानीय वासिन्दाले विरोध गरेका हुन्।’
उनीहरूले सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन्। हल्लाकै कारण उनीहरूले अन्त्यै राख्ने व्यवस्था गर्न माग गरेका हुन्। यसमा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’को प्रतिक्रियाले पनि विरोध बढाएको छ। उनले बिरामी ल्याउन लागेको भन्दै विरोध गरेका थिए।
स्थानीय वासिन्दाको दबाबमा नगरपाकिलाले पनि सरकारलाई पत्र पठाएको थियो। तर, यताबाट कुनै जवाफ नआएको मेयर मिश्रले बताए। ‘केही जवाफ आएको छैन, यतै राख्ने तय भएको हुनसक्छ,’ उनले भने।
चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई १४ दिनका दिनका लागि खरिपार्टीस्थित विद्युत प्राधिकरणका दुई भवनमा राखिनेछ। यसबाट कुनै जोखिम नहुने चिकित्सकहरुले बताएका छन्। संक्रमण देखिए अस्पताल लगेर उपचार गरिने र संक्रमण नदेखिए १४ दिनपछि घर पठाइनेछ।