बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्तको घरमा विस्फोट विप्लवका कार्यकर्ता पक्राउ
काठमाडौं, माघ २७ : बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालको बालाजुस्थित घरमा बम विस्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ न....

काठमाडौं, माघ २७ : बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालको बालाजुस्थित घरमा बम विस्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका साज जनालाई पक्राउ गरिएको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा विप्लवका नेता गोर्खाका कपिल भट्ट रहेका छन्। उनी गण्डकी ब्यूरो सदस्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, अन्य ६ जना कार्यकर्ता पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा नैकाप बस्ने भीम अधिकारी, पोखराका विष्णुप्रसाद अधिकारी, रामेछापका हरिचन्द्र खड्का, गोकर्णेश्वरका दिनेश नगरकोटी, गोरखाका विकाश थापा र सिन्धुपाल्चोकका राजकुमार मगर रहेका छन्। उनीहरू काठमाडौंमै बस्दै आएका थिए।
उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा राखिएको छ।
माघ १ गते बेलुका ढकालको घरको गेटमा बम विस्फोट गरिएको थियो। विस्फोटबाट पार्किङमा रहेको कार र गेटमा क्षति पुगेको थियो।
त्यहि दिन वालुवाटरको गेटमा पनि बम राखिएको थियो। त्यसलाई भने सुरक्षाकर्मी निष्कृय पारेका थिए।
त्यसयता प्रहरीले विशेष टोली खटाएर अनुसन्धान गरिरहेको थियो।











