Kathmandu Press

थाइल्यान्डलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

मलेसियाको बाँगीमा आज भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
थाइल्यान्डलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैं, असार १३ : मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  

मलेसियाको बाँगीमा आज भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। योसँगै प्रतियोगितामा दोस्रो हार बेहोरेको थाइल्यान्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ। थाइनयान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो। 

आजको खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको थियो। जवाफमा थाइल्यान्ड १३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो। थाइल्यान्डका लागि ईसान बेर्नोजीले १६ रन बनाए भने ओपनर डानुफोनले १२ रन जोडे। त्यसबाहके अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

थाइल्यान्डलाई सस्तैमा समेट्नेक्रममा नेपालका सन्तोष यादव एक्लैले पाँच विकेट लिए भने अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो।

नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए। त्यस्तै सुर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे। 

थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २र२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १र१ विकेट लिए। 

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। समूह ‘ए’ मा मलेसिया र थाइल्यान्ड छन्। त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन। नेपालले अब आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ। 

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्