साफमा १५ वर्षपछि पाकिस्ताविरुद्ध नेपालको जित
नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई १–० ले पराजित गरेको छ ।
काठमाडौं, असार १२ः आशिष चौधरीको डेब्यू गोलमा नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १–० ले पराजित गरेको छ । साफमा नेपालले १५ वर्षपछि पाकिस्तानलाई पराजित गर्न सफल भएको हो ।
बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरेका थिए । ४६औं मिनेटमा सब्स्टिच्युटका रुपमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन् ।
सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तानविरुद्धको जितसहित प्रतियोगिता सकाएको छ । नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ ।
प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











