संसदमा रस्साकस्सी : सभामुख सुन्ने, कांग्रेस सांसद बडु बिना माइक बोल्ने !
काठमाडौं, माघ २६ : आइतबार दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा करिब ४५ मिनेट ढिलोमात्रै सुरु भ....

काठमाडौं, माघ २६ : आइतबार दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा करिब ४५ मिनेट ढिलोमात्रै सुरु भयो।
राष्ट्रिय गान सकिएपछि सभामुख अग्नि सापकोटाले बैठकको काम कारवाही प्रारम्भ भएको जानकारी दिना साथ प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले विरोध जनाए। कांग्रेसका सांसदहरू आ-आफ्नो ठाउँमा उभिएर विरोध जनाइरहेपछि सभामुख सापकोटाले सुरुवातमै कांग्रेसले बिहीबारदेखि गर्दै आएको विरोधको सम्बोधन गर्ने प्रयास गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा उपभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको विरोधमा संसद बैठक अवरोध गर्दै आएको छ। राजनीतिक प्रतिशोध साँध्ने र असमान ढंगले मुद्दा दायर गरिएको भन्दै कांग्रेसले सडक र सदन अवरोध गदै आएको छ।
त्यसको निरन्तरता आइतबारको बैठकमा समेत देखियो। सभामुख सापकोटाले प्रमुख प्रतिपक्षलाई सम्बोधन गरेपनि कांग्रेस सांसद बसेनन्। यत्तिकै सांसद दिलेन्द्र बडुले माइक हातमा लिए। उनलाई सभामुखले समय भने दिएका थिएनन्। माइक अन नभईकनै बडुले आफ्ना कुरा राख्न खोजे। उनले संविधानको धारा १८ मा समानताको हकको प्रत्याभूति गरिएको तर अख्तियारले भने सत्तापक्षका नेतालाई जोगाएर विपक्षीहरुलाई मात्रै मुद्दा दायर गरी असमान व्यवहार गरेको बताइरहेका थिए।
अख्तियारको कदम विभेदपूर्ण भएको उनको भनाइ थियो। बडु बोलिरहँदा सभामुख सापकोटाले रोकेर आफ्ना कुरा पुनः दोहोर्याए।
‘माननीय सदस्य मैले तपाईंलाई समय दिएको पनि छैन, तपाईंका कुरा मैले बुझेँ। दुई दिनसम्म गम्भीरतापूर्वक सालिनतापूर्वक कुरा सुनेको छु,’ सभामुख सापकोटाले भने, ‘तपाईंहरुले उठाएका कुरा हाम्रो कार्यक्षेत्रभित्र पर्दैन। तपाईंहरुलाई संविधानको १०५ मा गरिएको व्यवस्थाबारे पनि राम्रोसँग थाहा छ। नियमावालीको पनि जानकारी छ। यो कुरा मलाई राम्रोसँग हेक्का छ।सबै विषय राख्ने थलो यही हो। दुई दिनसम्म राखिसक्नुभएको छ। सदनको कारवाहीलाई अघि बढाऔं। छलफलको ढोका खोलिदिनुहोस्।’
सभामुखको आग्रहलाई प्रमुख प्रतिपक्ष कांग्रेसले मानेन। बडुले सभामुखलाई भने, ‘सभामुख महोदय, केही समय पाउँ।’ तर, सापकोटाले बडुलाई समय दिएनन्।
र, भने- ‘प्रमुख प्रतिपक्षी दलका सांसद उठेका बेला सदन चलाउनु राम्रो होइन। त्यसैले प्रतिनिधि सभाको बैठक माघ २८ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित हुन्छ।’










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
