Kathmandu Press

पाेखरामा विपन्न परिवारलाई १० हजार लिटर नि:शुल्क खानेपानीदेखि फेवाताल संरक्षणसम्म 

कार्यक्रममा पोखरा महानगरले आगामी आर्थिक वर्षदेखि विपन्न परिवारलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी वितरण गर्नेदेखि फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइनेसम्मका योजनाहरु छन्। 
पाेखरामा विपन्न परिवारलाई १० हजार लिटर नि:शुल्क खानेपानीदेखि फेवाताल संरक्षणसम्म 


काठमाडौं, असार १० : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार १३ औं नगरसभामा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

कार्यक्रममा पोखरा महानगरले आगामी आर्थिक वर्षदेखि विपन्न परिवारलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी वितरण गर्नेदेखि फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइनेसम्मका योजनाहरु छन्। 

प्रावि तहका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा खर्चमा १० रुपैयाँ थप गरिने घोषणा पनि महानगरले गरेको छ। हाल खाजाखर्च वापत १० रुपैयाँ दिइँदै आएको छ। विद्यालय शिक्षा सुधार कार्यक्रम लागू गर्न आधारभूत तहमा मातृभाषामा पढाइ सुरु गर्न प्रशिक्षणको तामिलको व्यवस्था गर्ने महानगरले जनाएको छ। पोखराका विश्व रामसार सूचीमा परेका अन्य तालको सिमसार र जलाधार क्षेत्रको पनि संरक्षण गरिने कार्यक्रमसमेत महानगरको छ।

संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने मेयर आचार्यले बताए। पोखरोको लेकसाइडलाई २४ सै घन्टा खोल्न पहल गरिने भएको छ।  अतिक्रमणमा परेको फिर्केखोला संरक्षणका लागि दुवैतर्फ मापदण्ड तय गरिने भएको छ। फिर्केको मापदण्ड तय भइसकेपछि फुट्ट्रयाक तथा साइकल लेनको व्यवस्था गरिने बताए। यता, बाँदर व्यवस्थापनका लागि सामुदायिक वनसँगको सहकार्य गरी नीति ल्याइने छ। जंगलमै बाँदरको ‘मन पर्ने’ बाली केन्द्रीत अनुसन्धानात्मक परियोजना सञ्चालन गरिने योजना महानगरको छ। 

महानगरपालिकाले २० वर्ष पुरानो सवारीसाधनलाई विस्थापन गर्ने कार्यक्रमसमेत ल्याएको छ। महानगरमा सञ्चालित सवारी साधनको प्रदूषण नियन्त्रण प्रमाणपत्र अनिवार्य रुपमा लागू गर्ने घोषणा गर्ने र विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ। सार्वजनिक यातायातमा अनिवार्य जिपिएस र विद्युतीय भुक्तानी प्रणाली जडान गरिने योजना समेत छ। यात्रुहरुको हितलाई मध्यनजर गरेर ट्याक्सी सेवालाई अनिवार्य रुपमा मिटरमा चल्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने मेयर आचार्यले बताएका छन्। 

यस्तै, ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगलाई पूर्ण प्रतिवन्ध गर्ने कार्यक्रम समेत छन्। यस्का लागि सार्वजनिक स्थललाई प्लास्टिकका झोला, पानीका बोत्तल बिसर्जन गर्ने र जलाउने कार्य निषेध गरिने छ। 
 

प्रकाशित मिति: १५:४४ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्